काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा अब मात्र ३ सिट खालि छ। तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीसँग बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउने सुविधा छ।
त्यसैले प्रधानमन्त्रीले अब बढीमा तीन मन्त्री मात्र थप्न पाउनेछन्। प्रधानमन्त्री ओलीसँग अब सहरी विकास र स्वास्थ्य तथा जनसंख्या गरी २ मन्त्रालय मात्र बाँकी छ। संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउन भन्दै सरकारले ३ वटा मन्त्रालय फुटाएको थियो। प्रधानमन्त्री ओलीले सुरुमा फोरमलाई सरकारमा ल्याउन परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्य मन्त्रालयको प्रस्ताव गरेको थियो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले सुरुमा फोरमलाई परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर फोरमले परराष्ट्र मन्त्रालयभन्दा दुई विकासे मन्त्रालय माग गरेपछि सरकार अन्तिम समयमा लचिलो बन्यो । फोरमले अब सहरी विकास र स्वास्थ्य मन्त्रालयसहित सरकारमा जानेछ ।
सहरी विकास मन्त्रालय फोरम अध्यक्ष उपेन्द्र यादवले लिने पक्का छ। तर स्वास्थ्य मन्त्रालयमा कसलाई पठाउने भन्नेमा फोरमभित्र पनि विवाद छ । अशोक राई समूहलाई व्यवस्थापन गर्न फोरम अध्यक्ष यादवलाई राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउनु पर्ने बाध्यता छ । तर मधेशबाट प्रतिनिधित्व गर्ने सांसदले श्रेष्ठलाई कुनै हालमा मन्त्री बन्न नदिने दबाब सिर्जना गरेका छन् ।
शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । नयाँ सरकारमा एमालेबाट प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रालय, गोकर्ण विष्टले श्रम तथा रोजगार मन्त्रालय, रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालय, रघुवीर महासेठले भौतिक पुर्वाधार मन्त्रालय, शेरबहादुर तामाङले कानुन मन्त्रालय, लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जगत विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै एमालेबाट गोकुल बास्कोटाले सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
माओवादीबाट बर्षमान पुनलाई उर्जा तथा जलस्रोत मन्त्रालय, गिरिराजमणी पोखरेललाई शिक्षा, शक्ति बस्नेतलाई वन, चक्रपाणी खनाललाई कृषि तथा सहकारी र विना मगरलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, एमालेबाट गोकुल बास्कोटा सुचना तथा सञ्चार, धनबहादुर बुढा पर्यटन राज्यमन्त्री र पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। माओवादीबाट रामकुमारी चौधरी कृषि तथा सहकारी राज्यमन्त्री बनेकी छन् ।
प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै थममाया थापालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । लगत्तै विस्तार गरिएको मन्त्रिपरिषदमा एमालेबाट ईश्वर पोखरेल रक्षा मन्त्रालय र युवराज खतिवडालाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको थियो। माओवादीबाट रामबहादुर थापा 'बादल' गृह र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।