काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठकमा राखेको प्रतिवेदनमा ‘राष्ट्रिय राजनीतिक परिस्थिति’को विश्लेषण गरेका छन् । दोस्रो उपशिर्षकमा रहेको प्रतिवेदनमा सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलालले अन्यौल र अस्थिरता सिर्जना ‘कसरत’ गरिरहेको उल्लेख छ।
भनिएको छ, ‘देशभित्रर बाहिरका प्रतिक्रिया वादी शक्तिहरुले कम्युनिष्ट पार्टीमाथि अधिनायकवादीको झुठो आरोप लगाइ जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन्।’
निरंकुश राजतन्त्रका पक्षपोषकहरु, परिवर्तन विरोधी यथास्थितिवादी शक्तिहरु विभिन्न रुप र रंगका साम्प्रदायिक अतिवादी तत्वहरुलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा देश स्थिर र समृद्धिको दिशामा अगाडि बढ्न लागेको नपचेका बताइएको छ। उनीहरुले आफ्नो वर्ग चरित्रअनुसार अँध्यारो कोठामा पुगेर प्रतिक्रान्तिका तानाबाना बुन्न नछाडेको अध्यक्षद्वयको ठहर छ।
उनीहरुको तानाबाना निस्तेज पार्न परिवर्तनका पक्षधर बैधानिक शक्तिहरु सजगतापूर्व एकताबद्ध भएर अगाडि बढ्न जरुरी रहेको उल्लेख छ । इतिहासबाट सिकेर प्रतिक्रान्तिलाई निस्तेज पार्न लागिरहनुपर्ने बुझाइ अध्यक्षद्वयको छ।
सामन्ती निरंकुशता विरुद्ध लामा संघर्षपछि अहिले जनता साँचो अर्थमा सार्वभौम बन्न पुगेको उनीहरुको ठहर छ । प्रतिवेदनमा भनिएको छ, ‘राजनीति अस्थिरता र अराजकताको दुश्चक्रबाट बाहिर निक्लेर राजनीतिक स्थायित्व सहित समद्धिको नयाँ यात्रातर्फ नेपाली समाज अघि बढ्दैछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।