थाइराइड ग्रन्थी बन्ने बेलामा कुनै जटिल समस्या भएर अथवा ग्रन्थी नै नबनेका कारणले यसले उत्पादन गर्ने हर्माेनको मात्रा अत्यन्त न्यून अथवा उत्पादन नै नहुँदा जन्मजात रूपमा यो समस्या देखिन्छ । यीमध्ये ८०–९० प्रतिशत नवजातलाई गर्भमै रहेका बेला ग्रन्थी बन्ने समयमा भएका समस्याले यो रोग देखा पर्छ । यसबाहेक आयोडिनको कमी भएका ठाउँहरूमा जन्मिने बालबालिकामा पनि जन्मजात थाइराइडको समस्या देखा पर्छ।
सामान्यतया कुनै एउटा मात्र समस्या वा लक्षणबाट नवजातमा जन्मजात थाइराइडको समस्या भए÷नभएको छुट्याउन सकिँदैन । जन्मेदेखि बिस्तारै शारीरिक मानसिक वृद्धिविकास हुँदै जाने क्रममा देखिने लक्षणका आधारमा विशेषज्ञ चिकित्सकले आवश्यक परीक्षणपछि मात्र यो रोगको पहिचान गर्न सक्छन्।
नवजातमा देखिने लक्षण
– दूध चुस्नमा समस्या
– कमलपित्त
– कब्जियत
– सुस्त
– तालुको भाग ठूलो
– जिब्रो सामान्यभन्दा ठूलो
– छाला फुस्रो र सामान्यभन्दा फरक
– शरीर चिसो हुनु
– रुवाइको आवाज फरक हुनु
– लुलो हुनु
शिशु केही साताको भएपछि देखिने लक्षण
– अनुहारको आकृति अरुभन्दा केही फरह हुनु
– जिब्रो मुखबाहिर निस्कनु
– पेट ठूलो हुनु र फुल्नु
– नाइटोमा हर्निया
– झिझिने र रोइराख्ने
– उमेर अनुसार शारीरिक वृद्धि र मानसिक विकास नहुने
– गलगाँड देखापर्नु
थाइराइडसम्बन्धी समस्या भए/नभउको यकिन गर्न रगतमा थाइराइड हर्मोनको मात्रा कति छ थाहा पाउनु महत्वपूर्ण हुने भएकाले परीक्षण गर्नु पर्छ । बालबालिकाको उमेर अनुसार थाइराइड हर्मोनको मात्रा फरक हुन्छ । यसबाहेक हातखुट्टाको एक्सरे, घाँटीको अल्ट्रासाउन्ड र सुइबाट थाइराइडको विशेष परीक्षण गर्न सकिन्छ। नवजातमा थाइराइड हर्मोन कमीको समस्या पहिचान गर्न भारतलगायत अन्य राष्ट्रमा शिशु जन्मनासाथ रगतमा थाइराइड हर्मोनको मात्रा जाँच गरिन्छ । यस्तो जाँच सरकारद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत नै गरिन्छ । यो रोगको छिटो पहिचान गर्न सके शिशुमा पर्ने मानसिक र शारीरिक नकारात्मक असर समयमै न्यूनीकरण गर्न सकिन्छ।
थाइराइडबाट हर्मोन उत्पादन नै नहुने अथवा अत्यन्त न्यून उत्पादन हुनुको एकमात्र उपचार विधि हर्मोन नै हो । बालबालिकाको उमेर अनुसार उनीहरूमा हर्मोनको मात्रा फरकफरक हुने हुँदा सम्बन्धित विशेषज्ञ वा बालरोग विशेषज्ञसँग उचित परामर्श र सल्लाह लिनु अत्यन्त महत्वपूर्ण हुन्छ । उपचारको अवधी भने यो किन भयो कारणमा भर पर्छ. समयसमयमा हर्मोन जाँचका साथै बालबालिकाको मानसिक र शारीरिक वृद्धिविकासको अनुगमन यसको उपचारको अर्को अभिन्न पाटो हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।