झाडापखाला रोगको प्रकोप गर्मी मौसम लगायत अन्य समयमा देखिएको छ । यो रोग सरुवा रोग भएकाले छिट्टै अन्य मानिसहरुमा पनि फैलिन सक्दछ । त्यसैले यो रोग लाग्नबाट बच्न र बचाउन निम्न उपायहरु अपनाउन आवश्यक छ ।
१. खानेपानी राम्ररी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने गरौँ ।
२. खानेपानीको मुहान सफा राखौँ । मुहानमा फोहोर पानी र फोहोर बस्तु मिसिन नदिऔँ । खानेपानी शुद्धिकरण गर्न आवश्यक मात्रामा क्लोरिन, ब्लीचिङ पाउडर वा निर्मल चक्की वा वाटर गार्डको प्रयोग गरौँ ।
३. खाना खानु अघि, दिसा गरि सकेपछि, फोहोरमैला छोएपछि, बच्चाको दिसा धोएपछि साबुन पानीले हात मिचीमिची धुने गरौँ ।
४. बासी, सडेगलेको, झिँगा बसेको र खुल्ला रुपमा राखिएका खानेकुराहरु नखाऔँ ।
५. घर, आँगन, चोक, चर्पी सफा राखौँ ।
६. जथाभावी दिसापिसाब नगरौँ । चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ । चर्पी नभएमा खाल्डो खानी खाल्डोमा दिसापिसाब गरी माटोले पुर्ने गरौँ । बच्चाको दिसापिसाब पनि चर्पीमा फ्याक्ने वा खाडल खनेर पुर्ने गरौँ ।
७. सफा र ताजा खानेकुरा पर्याप्त मात्रामा खाऔँ ।
८. खानेकुरा राम्ररी पकाएर मात्र खाने गरौँ । काँचै खाइने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खाने गरौँ । पकाएको खानेकुरालाई छोपेर राखौँ ।
९. घरमा पानी राख्ने भाँडा सफा राखौँ र पिउने पानीलाई सधैँ छोपेर राखौँ ।
१०. मरेका वा बाढीले बगाएर ल्याएका पशु, पंक्षी र माछा नखाऔँ ।
११. खाना पकाउनु, पस्कनु, खानु र खुवाउनु अघि साबुनपानीले राम्ररी हात धुने गरौँ ।
१२. बच्चा जन्मेको १ महिना देखि ६ महिनासम्म आमाको दुध मात्र खुवाऔँ । ६ महिना पुगेपछि थप पोषिलो ताजा खानाहरु खुवाउने र २ वर्ष नहुन्जेलसम्म आमाको दुध खुवाई रहने ।
झाडापखाला लागेपछि गर्नुपर्ने कुराहरु
१. शरीरबाट झाडापखाला लागि जति मात्रामा पानी खेर गएको छ त्यतिकै अनुपातमा पुर्नजलीय झोल बनाएर खाने र खुवाउने गरौँ ।
२. झाडापखाला लाग्नेवित्तिकै स्वास्थ्य संस्था लगी स्वस्थ्यकर्मीसँग तुरुन्त उपचार गराऔँ ।
३. घरमै उपलब्ध हुनसक्ने खाने कुराहरु जस्तै भातको माड, झोलपदार्थ, दालको रस, गेडागुडी वा तरकारीको रस प्रशस्त मात्रामा खाने खुवाउने गरौँ ।
४. स्तनपान गरी रहेका बच्चालाई झाडापखाला लागेमा पटक पटक स्तनपान गराऔँ ।
५. झाडापखाला हुँदा साबिकमा जस्तै खानेकुरा खाऔँ र खुवाउने गरौँ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।