विराटनगर– नेपाली नोट फोटोकपी गरी ठगी गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नक्कली नोट र फोटोकपी मेसिनसहित पक्राउ गरेको छ।
धरान–७ का मीनकुमार राई, ११ का दिवस राई, १३ का राज राई र प्रकाश भण्डारी तथा धरान–१९ का मनिष राईलाई प्रहरीले पक्राउ गरेको हो। धरान–७ स्थित क्वालिटी डिजिटल फोटो स्टुडियोमा नेपाली हजार दरका नोट फोटोकपी गर्दै गरेको अवस्थामा २ थान नोट, कागज र ब्रोदर कम्पनीको प्रिन्टर मेसिन समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गत बिहीबार धरान–१५ का एक व्यापारीलाई अपरिचित २ युवाले फोटोकपी गरेको एक हजारको नोट दिई सक्कली पाँच सय दरका २ वटा नोट लिएर ठगी गरेका थिए। सोही घटनाका आरोपितलाई खोजी गर्ने क्रममा गत फागुन २८ गते धरान–१३ का राज राई र प्रकाश भण्डारीलाई पक्राउ गरिएको थियो।
ठगीको रकम लागूऔषध खरिद गर्न प्रयोग गर्दै आएका उनीहरुकै बयानका आधारमा अन्यलाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए।
पौडेलका अनुसार पक्राउ परेका मनिषलाई सादा पोशाकका प्रहरीसहित २ हजार रुपैयाँको नोट फोटोकपी गर्न पठाई संलग्न अन्यलाई पनि पक्राउ गरिएको हो। स्टुडियोमा काम गर्ने कर्मचारी मीनकुमार राईले नोट फोटोकपी गरेर दिने गरेका थिए। मनिषले लिएर गएको नोट फोटोकपी गर्दै गरेको अवस्थामा मीन र दिवसलाई नियन्त्रणमा लिएको थियो।
अवैध धन्दाका विषयमा कर्मचारीको मात्र संलग्नता पुष्टि भएपछि स्टुडियोका मालिक दिपेन शाक्यलाई तारेखमा छाडिएको छ। पक्राउ परेका सबैलाई नेपाल राष्ट्र बैंकको खोटा सिक्का अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यलय धरानले जनाएको छ। ऐनमा दस लाख रुपैयाँ जरिवाना र तीन वर्षसम्म सजाय हुनसक्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।