रोल्पा– ७१ वर्षको उमेरमा एक जोडीले जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ।
साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उनका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो।
जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्ध विच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिए। उनका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नम्बरको देहाय २ बमोजिम सम्बन्धविच्छेदको फैसला गरेको हो। वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्ध विच्छेद गरेकी हुन्।
हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्वर्गीय दलसर रोकासँग यसअघि मागी विवाह भएको थियो। पहिलो श्रीमान् रोकाबाट हस्तमालीका सन्तान भएनन्। दुर्भाग्यवश रोकाको निधन भयो। यसरी एक्लो जीवन बिताउँदै आएका हस्तमालीले ४८ वर्षको उमेरमा पञ्चबहादुर वलीसँग २०५१ सालमा आफूखुसी प्रेम विवाह गरेका थिए। विवाहपछि वली दम्पतीबाट एक छोरीको जन्म भएको र उनको पनि विवाह भइसकेको बुझिएको छ।
जिल्ला अदालत रोल्पामा पीडितले दिएको निवेदन उजुरी अनुसार विवाहपछि दोस्रो श्रीमान् पञ्चबहादुरले आफूलाई अनावश्यक रुपमा गाली गर्ने, कुटपिट गर्ने, खान लगाउनमा अपहेलना गर्ने, कामधन्दामा मात्र लगाई श्रम शोषण गर्ने, शारीरिक एवं मानसिक रुपमा यातना दिने गरेको उल्लेख छ।
वृद्धा वलीले पेश गरेको निवेदन अनुसार आफू वृद्धावस्थाका कारण काम गरिखान नसक्ने स्थितिमा रहँदा पनि ‘यस्ती स्वास्नी चाहिँदैन, घरबाट निस्किएर जा’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको हुँदा आफू २०७२ असोज १० गतेदेखि छोरीको घरमा बस्दै आएको वृद्धा वलीले आफ्नो निवेदनमा उल्लेख गरेका छन्।
घरबाट निस्किएपछि पनि श्रीमानले आफ्नो कुनै खोजखबर नगरेका कारण आफूले पटकपटक गाउँका भद्रभलाद्मीहरु तथा स्थानीय प्रहरी चौकीमा पुगी छलफल गराएको, अनेक प्रयास गर्दा पनि श्रीमानले घरमा लैजान नमानेको, बरु अदालतबाट सम्बन्ध विच्छेद गर, नत्र तँलाई नमारी छाड्दैन भन्दै डर धम्की देखाई करकापमा पारेको हुँदा आफू सम्बन्ध विच्छेदको निर्णयमा पुगेको वृद्धाको निवेदनमा उल्लेख छ।
जिल्ला न्यायाधीश श्रेष्ठका अनुसार पीडितले २०७३ फागुन १२ गते सम्बन्धविच्छेदका लागि जिल्ला अदालत रोल्पामा निवेदन दिएको थियो। प्रतिवादीलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गरिएको भए पनि सो जानकारी पाउँदापाउँदै कुनै पनि प्रतिवाद नगरी चुप लागी बसेका कारणले गर्दा प्रतिवादीको भावना बुझ्न नपाइएको उनको भनाइ छ।
जिल्ला अदालत रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आर्थिक वर्षमा मात्र यस अदालतमा अहिलेसम्म ९७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन्। विगतका वर्षहरुमा जस्तै यस आर्थिक वर्षमा पनि जिल्ला अदालत रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढी नै भएको पाइएको छ।
- कविता उपाध्याय / रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।