काठमाडौँ- युएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित जाचँबुझ आयोगले आफ्नो काम सुरु गरेको छ। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले युएस विमान दुर्घटना सम्बन्धमा दुर्घटना जाँच आयोगले मंगलबारदेखि अनुसन्धानको काम थालेको जानकारी दिए।
सहसचिव आचार्यले आयोगको काम सुरु भएको र मन्त्रालयमा सचिवालय स्थापना गरेर अनुसन्धान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइले बताए। 'दुर्घटना जाचँबुझ आयोगले काम थालिसकेको छ, यो अन्तर्राष्ट्रिय उडानमा सरिक वायुयान दुर्घटना भएकाले यसमा धेरै खालका विज्ञहरुको संलग्नता रहन्छ, जहाज निर्माता क्यानेडियन कम्पनीलाई जानकारी गराइसकेका छौँ,' उनले भने, 'बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई पनि खबर गरिएको छ, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता संस्थासँग सहकार्य गरेर अनुसन्धानका कार्य अघि बढाउँछौँ।'
सहसचिव आचार्यका अनुसार व्यापारिक उडानमा रहेको विमान दुर्घटनाको यति अवधिमा छानबिन गरिसक्ने भन्ने विश्वव्यापी कुनै मान्यता नरहेको भए तापनि नेपालले दुई महिना ९० दिन र बढीमा ५ महिना अवधिको समयावधि अभ्यास गर्दै आएको छ। सकेसम्म ५ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने भन्ने प्रारम्भिक सम्झौता भएको उनले बताए।
६ सदस्यीय जाचँबुझ आयोगको सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी छन् भने सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।