काठमाडौं– बंगलादेशको विमान दुर्घटनामा आफ्नो २४ वर्षीया छोरी गुमाएकी उर्मिला प्रधान बुधबार विस्मित देखिन्थिन्। उनी विगत दुई दिनदेखि छोरी श्वेता थापाको शव बुझ्न महाराजगञ्जस्थित टिचिङ अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएर बसेकी छन्। तर, बुधबार एकाएक श्वेताको शवमा उनका पिताले दाबी गरेपछि उर्मिला अचम्मित भइन्। थापा थरका ती व्यक्तिसँग उर्मिलाको धेरै अगाडि सम्बन्ध विच्छेद भएको थियो। थापा छोरी श्वेतालाई उर्मिलासँगै छाडेर छुट्टै बस्दै आएका थिए।
पारपाचुके भइसकेको श्रीमानले गरेको दाबीमाथि प्रश्न उठाउँदै बुधबार पत्रकारसँग उनले भनिन्, ‘मैले त्यस (छोरी) लाई हुर्काएर ठूलो बनाएँ। ऊ (पारपाचुके गरिसकेका श्रीमान्) त डिभोर्स गरेर अर्की स्वास्नी ल्याएर बसेको। त्यसले यहाँ आएर छोरीको शवमा दाबी गर्न पाउँछ?’
उनले अगाडि भनिन्, ‘जे भए पनि तिमी बाउ हौ, आगो लगाइदेऊ भन्दा दागबत्ती दिएर १३ दिन बस्छु भन्यो।’ गोदावारी टौखेल निवासी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बंगलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन्। होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो।
श्वेता अध्ययन पूरा गरेर फर्किंदै थिइन्। उनले काठमाडौं आएपछि आमालाई चन्द्रागिरी र पोखरा जाने योजना बनाउन भनेकी थिइन्।
छोरी फर्किने दिन उनलाई लिन त्रिभुवन विमानस्थलमा आफू धेरै अगाडि पुगेको बताउँदै उनले भनिन्, ‘बंगलादेशको विमान ल्यान्ड हुँदैछ भन्ने सूचना आयो। अब ४० मिनेटपछि बाहिर आउँछे भनेर खुसी भएको थिएँ।’ तर, त्यसको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भएको खबर आयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।