झापा- नेपाल आयल निगमले बुधबारदेखि औपचारिक रुपमा सिलगुडी नाकाबाट गुड्ने इन्धनका टयाङ्करहरुमा लकिङ (ताल्चा) प्रणाली जडान गरेको छ। उक्त प्रणालीको विरोध गर्दै बुधबार कुनै पनि ट्याङ्कर पेट्रोलियम पदार्थ लिन सिलगुडी गएनन्।
ट्याङ्कर चालकहरुले आवश्यक सल्लाह नै नगरी उक्त प्रणाली भित्र्याएको भन्दै विरोध गरेका हुन्। इन्धन ढुवानीमा हुने चोरी तथा चुहावट रोक्न पहिलो पटक सिलगुडी नाकामा गुड्ने टयाङ्करमा ताल्चा लगाइएको हो।
यता, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले उनीहरु सहमतिमा नआए सिलगुडी नाकाबाट इन्धन ढुवानी हुने ठाउँहरुमा वैकल्पिक बाटोबाट पेट्रोलियम ल्याएर आपूर्ति गर्ने बताएका छन्।
भट्टराईले इन्धन ढुवानीमा देखिएका समस्या समाधान गर्न लकिङ प्रणाली जडान गरिएको जानकारी दिए। पहिलो चरणमा सिलगुडीबाट सुरु गरेर तीन महिनाभित्रमा सबै नाकामा गुड्ने ट्याङ्करहरुमा लकिङ प्रणाली जडान गरिने उनले बताए।
'यसले इन्धन ढुवानीका क्रममा बीच बाटोमा हुने चोरी र मिसावट क्रमश: रोकिँदै जानेछ, अर्कातिर चालक र ढुवानीकर्तामा लाग्ने गरेको आरोप पनि हट्नेछ', कार्यकारी निर्देशक भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।