एजेन्सी– रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म २.० को अहिलेसम्म पनि रिलिज मिति तय हुन सकेको छैन। निर्माण युनिटले समय समयमा रिलिज मिति हेरफेर गरिरहेको छ। भिएफएक्सको काम समयमै नसकिँदा युनिटले सोचे अनुरुपको समय तालिकामा काम गर्न नसकेको स्रोतले जनाएको छ। एकातर्फ फिल्मको रिलिज मिति तय हुन नसक्नु र अर्कातर्फ फिल्मको टिजर समेत अनलाइनमा लिक हुनाले फिल्मले दिन प्रतिदिन घाटा बेहोर्नुपरिरहेको छ।
फिल्म ‘२.०’ रोबोटको सिक्वेल हो। यो फिल्म बाहुबली र बाहुबली २ जस्तै भारतीय बक्सअफिसमा सुपरहिट बनेको थियो। विशेष इफेक्टहरुको प्रयोगबाट चर्चामा रहेको रोबोटमा जस्तै २.० मा पनि विशेष इफेक्टको प्रयोग देख्न सकिनेछ। फिल्ममा बलिउड स्टार रजनीकान्त, अक्षयकुमारका साथ एमी ज्याक्सन मुख्य भूमिकामा देखिँदैछन्। फिल्ममा एआर रहमानले म्युजिकको काम गरिरहेका छन्।
फिल्म २०१७ को दिपावलीमा रिलिज गर्ने तयारी रहे पनि प्राविधिक कारण देखाउँदै सो मितिमा प्रदर्शन हुन सकेन। दिपावलीपछि अप्रिलमा रिलिज गर्ने फिल्म युनिटको तयारी पनि सम्भव नभएको स्रोतमा उल्लेख गरिएको छ। फिल्ममा अझै पनि विशेष इफेक्टहरुको डिजाइन र प्रयोग बाँकी रहेकाले अप्रिलमा रिलिज हुन नसक्ने भएको हो। फिल्मलाई यसअघि थ्रिडीमा प्रदर्शन गर्ने भनिए पनि अब भने टुडीमा मात्र प्रदर्शन गरिने बताइएको छ। फिल्मको प्राविधिक पक्षलाई लिएर अबको रिलिज मिति आउँदो दीपावलीमा हुन सक्ने बुझिएको छ।
फिल्म २.० को लगानी ४५० करोडभन्दा बढी पुगेको छ। ठूलो बजेटकै कारण फिल्मबाट दर्शकको अपेक्षा पनि बढ्दो छ। फिल्म लगानी र मेकिङको समय र स्टोरी अनुसार बाहुबलीभन्दा बढी धमाकेदार रहेको बलिउड फिल्म बजारमा हल्लासमेत चल्न थालेको छ।
फिल्मले आफ्नो सम्पूर्ण काम पूरा नगरी १९० करोडभन्दा बढीको आम्दानी गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। कुनकुन स्रोतबाट कमाइ गरेको उल्लेख नगरिए तापनि फिल्मले आफ्नो लगानी मात्र सुरक्षित गर्न अब २६० करोडको व्यापार गर्नुपर्ने देखिन्छ।
फिल्मको लगानी, निर्माण समय र दर्शकको अपेक्षाका आधारमा रिलिजका लागि अन्य फिल्महरुले टक्कर लिन नसक्ने समाचारमा उल्लेख गरिएको छ। एकपछि अर्को गर्दै सारिएको प्रदर्शन मिति र लगानीको हिसाबले पनि फिल्मले धेरै स्क्रिनहरुको अपेक्षा गरेको देखिन्छ। यस कारण फिल्मले सोलो रिलिजको मौका पाउने प्राय: निश्चित छ। यसबाट फिल्मले एक हप्ताभरि बक्स अफिसमा राज गर्ने अनुमान गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।