नयाँ दिल्ली (एजेन्सी)– बलिउड सुपरस्टार आमिर खान आज ५३औं जन्मदिन मनाइरहेका छन्। बक्स अफिसमा जादू देखाउने बलिउका 'मिस्टर पर्फेक्सनिस्ट'ले बलिउडमा बाल कलाकारबाट फिल्मी यात्रा सुरु गरेका थिए। उनले पहिलो पटक सन् १९७३ मा फिल्म 'यादोंकी बारात'मा अभिनय गरेका थिए।
बाल कलाकारको रुपमा अभिनयको दुनियाँमा भित्रिएका आमिर कुनै दिन बलिउडकै सुपरस्टार बन्छन् भन्ने धेरैको कल्पनामा समेत नहुँदो हो। तर, आमिरले मसालेदार फिल्म हुँदै पछिल्लो समय फरक खालका प्रोजेक्ट गर्दै आफ्नो अलग पहिचान स्थापित गरेका छन्। उनी अभिनयमा नयाँपन दिन माहिर मानिन्छन्। बलिउडका तीन खानमध्ये शाहरुख र सलमानभन्दा उनको कामलाई गम्भीर रुपमा हेरिन्छ।
आमिरको जीवनलाई पछाडि फर्केर हेर्ने हो भने उनी परिवारिक रुपमा फिल्मी परिवेशमै हुर्किए। उनका पिता फिल्म निर्माता थिए भने काका निर्देशक। पारिवारिक पृष्ठभूमिलाई नै अनुभव बनाएर अघि बढेका उनले जीवनमा खासै असफलता भोग्नु परेन। आमिर अभिनीत फिल्म 'गजनी' (२००८) भारतकै पहिलो फिल्म हो, जसले बक्स अफिसमा १ सय करोड व्यापारको कीर्तिमान बनाएको थियो। भारतीय बक्सअफिस कलेक्सन भात्र नभई अन्तर्राष्ट्रिय रुपमा एक सय करोडभन्दा बढी कमाउने उनका धेरै फिल्म छन्।
आमिरले बलिउड फिल्महरुमध्ये सबैभन्दा महँगो पहिलो फिल्म 'धुम ३' (२०१३)मा समेत काम गरे, जसको बजेट थियो १७५ करोड भारु। यस्तै, उनी अभिनीत 'पिके' (२०१४)ले बलिउड उद्योगकै सर्वाधिक ३ सय करोडको व्यापार गरेको थियो।
बलिउडका हस्ती देव आनन्दद्वारा निर्देशित फिल्म 'अब्बल नम्बर'मा उनले त्यसरी काम गरेका थिए। पछिल्लो समय भने आमिर स्क्रिप्ट र आफ्नो भूमिकाबारे त सचेत छन् नै, आफू अभिनीत गर्ने फिल्मको निर्माण युनिटमै सहभागी भएर महत्वपूर्ण हिस्सा लिने गरेका छन्।
विशेष तयारीका साथ फिल्म ल्याउने उनले व्यावसायिकतालाई जति जोड दिन्छन्, सामाजिक मुद्दामा पनि उत्तिकै सचेत र जिम्मेवार रहने गरेका छन्। केही वर्षअघि उनले प्रस्तुत गरेको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' निकै चर्चामा आएको थियो। कार्यक्रम मार्फत भारतका विविध सामाजिक पाटो खोतलेर राज्यको नीति निर्माण तहलाई झकझक्याउँदै उनले नागरिक तहबाट स्याबासी पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।