बाल दम सम्बन्धी केही यस्ता प्रश्न, जुन तपाईले आफ्नो डाक्टरलाई सोध्न भ्याउनु भएन वा त्यतिबेला दिमागमा थिएन तर अहिले तिनका उत्तर खोज्दै हुनुहुन्छ ?
प्रश्न १ - बाल दम भनेको के हो ?
बाल दम भन्नाले बालबालिको श्वास फेरने नली सुन्नीएर साँघुरीएर श्वासप्रश्वास सम्बन्धी विभिद लक्षण देखिने रोग हो। यस्ता बालबालिको कुनै नजिकका परिवारका सदस्यमा पनि दम वा एलर्जी भएको हुनसक्छ।
प्रश्न २ - बाल दमको प्रमुख लक्षण के हुन्छन् ?
प्रायजसो दम भएका बालबालिका बल्झिरहने लामो खोकी वा स्या स्या वा श्वास फुल्ने समस्या जुन राती बढी हुन्छ, शारीरिक परिऋम, हासों रुवाईपछी बढ्छ, वा चिसो तथा अन्य एलर्जी गर्ने तत्वको सम्पर्कमा आउँदा बल्झिन्छ,यस्ता लक्षण लिएर प्रस्तुत हुन्छन्।
प्रश्न ३ - के दम भएको हरेक बच्चामा श्वास फुल्ने समस्या हुन्छ ?
श्वास फुल्ने समस्या दमको एक लक्षण हो तर सबै दम भएका बालबालिकामा श्वास फुल्ने समस्या नदेखिन सक्छ।
प्रश्न ४ - यस्तो लक्षण दोहोरीरहनु को कारण के होला ?
यस्ता लक्षण दोहोरीरहने बालबालिकामा वातावरणिय, घरभित्र रहेका वा कुनै खाने कुराको एलर्जी हुनसक्छ ।जसले अन्तत श्वास फेरने नली साँघुरीएर दमको लक्षण देखापर्छन्।
प्रश्न ५ - मेरो बच्चालाई एलर्जी भएको भन्नुहुन्थ्यो अरुले, दम कसरी भयो त ?
एलर्जी भन्नाले कुनैपनि दैनिक जसो सम्पर्कमा आउन सकिने तत्वसगं शरीर बढी संवेदनशील भई शरीरको कुनै पनि भागमा भिन्न किसिमले प्रस्तुत हुनसक्ने अवस्था हो। एलर्जीक राईनाइटिस भएमा लक्षण नाक सम्बन्धी देखिन्छन्, एलर्जीक डर्माटाइटिस भएमा लक्षण छालामा र श्वास नलीमा भएमा दमको लक्षण देखिन्छन् । जहाँ जस्तो लक्षण देखिन्छन् ,उपचार सोही अनुरूप गर्नुपर्छ।
प्रश्न ६ - मैले सुनेको थिएँ ५/६वर्ष उमेर पुग्दा बच्चाहरु यी लक्षणबाट मुक्त हुन्छन्, के साँच्चिकै हो त ?
यो सत्य हो कि धेरै बालबालिकाहरुले ५÷६ वर्ष उमेर पुगेपछी आंशिक वा पूर्ण रुपमा दमको लक्षणबाट मुक्ति पाउँछन्। तर कुन बच्चाहरुले आंशिक वा पूर्ण मुक्ति पाउँछन् र कुन बच्चाहरुमा लक्षण झनै समस्याग्रस्त हुन्छन् भन्ने पूर्वानुमान गर्न अत्यन्त गार्हो हुन्छ। त्यसैले यस्ता बच्चाहरुलाई सही समयमा सही उपचार विधी अपनाउनु जरुरी छ। यसले भविष्यमा हुनसक्ने दमको जटिलताबाट बच्चालाई जोगाउन सकिन्छ। साथै दमलाई नियन्त्रणमा राखी सामान्य जीवनयापन र शारीरिक विकास हुन दिन सकिन्छ।
प्रश्न ७ - मेरो बच्चाको उपचारको निम्ति म जे गर्नपनि तत्पर छु। के दम पूर्ण रुपमा निको हुन्छ ?
केही रोगहरुलाई पूर्ण रूपमा निको पार्न सकिंदैन तर नियन्त्रणमा राख्न सकिन्छ। जस्तै ब्लडप्रेसर, सुगर आदि। त्यस्तै दमपनि डाक्टरको सल्लाह र आवश्यकता अनुसार नियमित र सही उपचार विधी प्रयोगले पूर्ण नियन्त्रणमा राखी जीवन पूर्ण क्षमताका साथ बाँच्न सकिन्छ।
डेविड बेकहम प्रसिद्ध फुटबल खेलाडी, सौरभ गांगुली प्रसिद्ध पूर्व भारतीय क्रिकेट टिमका कप्तान, जेसिका अल्बा प्रसिद्ध अभिनेत्री, अमिताभ बच्चन प्रसिद्ध बलिउड अभिनेता लगायत थुप्रै प्रसिद्ध व्यक्तिहरु आफ्नो दम नियन्त्रणमा राख्न सफल भइ जीवनमा धेरै सफलता प्राप्त गर्न सक्छन भने तपाईको बच्चाले पनि पछी आफ्नो क्षमता अनुरूप सफलता पाउन सक्ने छ।
प्रश्न ८ - इन्हेलर त अन्तिम उपाय होइन ररु चक्की वा झोलनै राम्रो भन्थे त, के हो ?
इन्हेलरबाट औषधि लिंदा सिधै श्वास नलीमा पुग्ने हुनाले त्यसको असर पनि छिटो हुन्छ। साथै औषधिको मात्रा एकदमै कम हुनेहुनाले अवान्छित असरपनि एकदम कम हुन्छन् । यो उपचार विधी संसार भरीका विशेषज्ञ डाक्टरहरुले सिफारिश गरिएको विधी हो। यदि तपाईको बच्चालाई दम छ तर तपाई इन्हेलर प्रयोग गरिरहनु भएको छैन भने, यो ठूलो भुल हो।
प्रश्न ९ - इन्हेलर धेरै कडा औषधि हो भन्ने सुनेथें, ठूलो मान्छेलाई मात्र दिन मिल्छ रे, होइन र ?
यो भ्रम हो कि इन्हेलर धेरै कडा औषधि हो। वास्तवमा इन्हेलर चक्की वा झोल औषधिको तुलनामा कम मात्रा हुनेहुनाले झनै सुरझित छन्। आवश्यकता अनुसार ठूला मान्छे, साना बच्चा सबैले उपयोग गर्न सक्छन्।
प्रश्न १० - एकपटक इन्हेलर शुरु गरेपछी बानी पर्छ भन्छन् नि त?
सबैभन्दा पहिले हामीले “आवश्यकता” र “बानी” बीचको फरक बुझ्नु पर्छ। यदि मेरो आँखा कमजोर छन् भने चस्मा लगाउनु मेरो आवश्यकता हो बानी होइन। त्यस्तै दम भएका बच्चाको लागी इन्हेलर आवश्यक हुन्।
प्रश्न ११ - दमको उपचारमा होमियोपैथी राम्रो रे, त्यो प्रयास गर्ने कि?
इन्हेलर विधी विश्वव्यापी रुपमा मान्यताप्राप्त दमको उत्कृष्ट उपचार विधी हो। यसको सिफारिश गरिनु अघि धेरै अध्ययन र रिसर्च गरिएको छ। अन्य उपचार विधीको बारेमा त्यो भन्न सकिंदैन।
प्रश्न १२ - हामीसंग घरमै वाफ लगाउने मेसिन छ। त्यही प्रयोग गर्दा हुँदैन ?
अध्ययनले इन्हेलर बढी प्रभावकारी र सुरक्षित देखिएको छ। त्यसैले वाफ लगाउने मेसिन दैनिक औषधी प्रयोग गर्न सिफारिश गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।