उमेर बढ्दै जाँदा शरीरमा त्यसको असर देखिँदै जानु प्रकृतिको अपरिहार्य नियति हो । तथापि सधैँ युवावस्थामै रहिरहन चाहन्छन् मानिस । त्यसैले बूढो हुने प्रक्रियालाई बुझ्नु आवश्यक छ । यहाँ उमेर बढेपछि छाला चाउरी पर्नुका कारण, लक्षण र रोकथामका उपायबारे चर्चा गरिएको छ ।
कारण :
छाला चाउरी पर्नुका आन्तरिक र बाह्य कारण हुन्छन् ।
आन्तरिक कारण : यसमा वंशानुगत, छालाको रंग, महिला, कोषिकाहरू नष्ट हुँदै जानु आदि पर्छन् । यी कारण परिवर्तनशील होइनन् । वंशानुगत विविधताले मानिसको अनुहार तथा बाह्य स्वरुपमा फरक परेजस्तै बूढो हुने जिनमा पनि भिन्नता हुनसक्छ ।
क्रोमोजमको टेलोमेरेज विभिन्न जाति र भेगका मानिसमा छिट्टो वा ढिलो नष्ट हुन्छ । जसका कारण कोही वंशानुगत रुपमै छिटो बूढो हुन्छन् । गोरो छाला, रातो कपाल र नीलो आँखा हुनेमा खैरो र कालो छाला हुनेभन्दा कम मेलानिन तत्व हुन्छ र छिटो बूढो हुन्छ । रंग बनाउने मेलानिनको कमीले घामका हानिकारक तत्वबाट छालालाई बचाउन गा¥हो हुन्छ ।
बाह्य कारण : बाह्य कारणमा सूर्यको किरण ७० प्रतिशत जिम्मेवार हुन्छ । यसबाहेक चुरोट तथा रक्सीको सेवन, प्रदूषित वातावरण, अत्यधिक मोटोपना, धेरै खाने बानी, पौष्टिक आहार तथा व्यायामको कमी, मधुमेह, रक्तचाप, थाइरायड, पानीको कमी, मानसिक तनाव वा चिन्ता पनि पर्छन् ।
घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभायोलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट छालालाई हानि गर्छ । अल्ट्राभायोलेट–ए र अल्ट्राभायोलेट–बी किरणका कारण चाउरी पर्ने हुन्छ । अल्ट्राभायोलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ । यस तहको कोल्याजन घरको जग भनेझैं छालाको प्रमुख आधार हो । कोल्याजन घट्दै गएपछि छाला झोलिने र लचिलो हुन्छ, चमक गुम्छ । बिहान र साँझको घाम पनि उत्तिकै हानिकारक हुन सक्छ । घामबाट छालाप्रति देखिने नकारात्मक असरको मापन ३० वर्षमाथिका व्यक्तिको अनुहार र जीउको छालाको अन्तर दाँजेर हेर्दा थाहा हुन्छ । घामले छोपिएका भागमा धेरै कम असर देखिन्छ । महिलामा पुरुषमा भन्दा कम कोल्याजन हुन्छ । त्यसैले छिटो उमेर ढल्छ ।
कस्ता परिवर्तन हुन्छन् ?
छालाका तह पातलो हुने, कोषिकाहरूको सूक्ष्म क्षति, पानी तत्व घट्ने, तेल र पसिना बनाउने ग्रन्थी सुक्ने, कपाल, नङ र छालाले काँचुली फेर्न कम हुने, घाउ ढिलो पुरिने आदि परिवर्तन आउँछन् ।
लक्षण
चाउरीपना, पहेँलोपना, पोतो, चाया, छाला लचिलो हुने, साना रक्तनली देखापर्ने, सुख्खापन, दाग, चमक घट्ने र कपाल फुल्ने हुन्छ । लामो समय घामको असरले क्यान्सरको खतरा हुन सक्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।