एजेन्सी– बलिउड अभिनेत्री रानी मुखर्जी यतिबेला रिलिजको तयारीमा रहेको फिल्म 'हिचकी'को प्रचारप्रसारमा निकै व्यस्त छिन्। प्रचारकै प्रसंगमा पारिश्रमिकबारे उनले आफ्नो विचार व्यक्त गरेकी छन्। 'जसलाई अभिनय गर्न नै आउँदैन,' उनले भनिन्, 'उनीहरु नै पारिश्रमिकको मुद्दामा अगाडि देखिएका छन्।'
आफू पैसा कमाउन फिल्म उद्योगमा नआएको उनले प्रस्ट पारेकी छन्। 'म अभिनयबाट अनन्द लिन चाहन्थेँ। तर मेरो परिवार भने पैसाको हिसाब राख्थ्यो,' उनले भनेकी छन्, 'तर हिजोआज अभिनयबारे ज्ञान नभएकाहरु नै पारिश्रमिकमा समानताको कुरा गरिरहेका छन्।'
आफ्नो फिल्डमा राम्रो काम गर्ने हो भने पारिश्रमिकबारे चिन्ता लिनु नपर्ने रानीको भनाइ छ। 'अभिनयदेखि रिबन काट्दासम्म पनि पैसा नै कमाउन सकिन्छ। तर यसका लागि त राम्रो काम गर्नुपर्यो,' उनले भनिन्।
आफ्नो काममा विश्वस्त रहेको भन्दै उनले पति आदित्य चोपडाको काममा कहिलै असर नगर्ने पनि बताइन्। पतिको उपलब्धि उनकै मेहनतबाट हुने र आफ्नो उपलब्धि आफ्नै मेहनतबाट प्राप्त हुने रानीले प्रस्ट्याइन्।
उनको फिल्म हिचकी मार्च २३ मा प्रदर्शन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।