काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र अभिनेता नाजिर हुसेनले मिडियामा आएका समाचारहरु भ्रामक भएको भन्दै त्यसप्रति आक्रोश व्यक्त गरेका छन्।
आइतबार राजधानीमा आयोजित एक प्रेसमिटमा साम्राज्ञी र नाजिरले यस्तो प्रतिक्रिया दिएका हुन्।
फिल्म 'ए मेरो हजुर २' को सफलता सँगै चर्चामा रहेकी नायिका हुन् साम्राज्ञी। त्यसयता उनको मुख्य भूमिकामा रहेका फिल्महरु प्रदर्शनमा आएका छैनन्। पछिल्लो समय फिल्मबाट चर्चा नपाए पनि उनले विभिन्न गसिपको सामना गर्नुपरेको छ। तीमध्ये छातीमुनि खोपिएको ट्याटु र 'फिल्ममा म गाउँले रोल गर्दिनँ' भनेर दिइएको भनिएको अभिव्यक्ति मुख्य छन्।
ती दुई विषयलाई मिडियामा अनावश्यक उछालिएको भन्दै साम्राज्ञी निकै आक्रोशित देखिइन्। फिल्म 'कायरा'का लागि फिलिपिन्स पुगेको बेला त्यहीँबाट ट्याटु आर्टिस्टबाट उनको फोटो सामाजिक सञ्जालमा अपलोड भएको थियो। तर, मिडियामा भने साम्राज्ञी आफैंले फोटो अपलोड गरेको भन्दै भाइरल बनेको थियो। त्यसबाट आफूलाई निकै दुःखी तुल्याएको उनले बताइन्। उनको फोटो सार्वजनिक गर्ने ट्याटु आर्टिस्टले पछि फोटो हटाउँदै माफी समेत मागेका थिए।
पछिल्लो समय साम्राज्ञीले 'आफूलाई गाउँले भूमिका मन पर्दैन' भन्ने समाचारहरु पनि भ्रामक रुपमा फैलिएको भन्दै स्पष्टीकरण दिएकी छन्। 'जय शम्भु'का निर्माता अशोक शर्माबाट फिल्मको अफर आए पनि समय अभावका कारण अस्वीकार गर्नुपरेको तर मिडियामा भने गाउँले भूमिका मन नपर्ने भनेर कुरा फैलिएको उनले बताइन्। यस विषयमा निर्माता शर्माले पनि साम्राज्ञीले मिडियामा आए जस्तो कुनै कुरा नबोलेको बताइसकेका छन्।
कार्यक्रममा पत्रकारले ‘ए मेरो हजुर २’मा साम्राज्ञीको अपोजिट भूमिका नपाएपछि फिल्म छाडेको हो भन्ने प्रश्नमा नाजिर रुष्ट बने। उनले समाचार लेख्नुअघि आफूलाई सोध्न सुझाव दिँदै भने, ‘समय नमिलेका कारण मैले त्यो फिल्म छाडेको थिएँ। मलाई निर्माताको अगाडि राखेर कुरा गराउनुहुन्छ भने पनि कुरा गर्न सक्छु।’
नाजिरले एक वर्षमा आफूले कम्तीमा २–३ वटा फिल्म गर्नुपर्ने आवश्यकता रहेको भन्दै प्रतिप्रश्न गरे, 'धेरै प्रोजेक्टमा काम गर्ने सोच लिएको मान्छेले कसरी यो भूमिका पाइनँ भनेर फिल्म छोड्न सक्छ र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।