काठमाडौं– गत शुक्रबारबाट रिलिज भएको फिल्म 'मंगलम'ले राम्रो प्रतिक्रिया पाइरहेको छ। छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मले आइतबार काठमाडौंमा एक प्रेस शो को आयोजना गर्यो।
निर्देशक नवल नेपालको कामलाई दर्शकले तारिफयोग्य भन्दै बधाई दिएका थिए। फिल्म हेरेपछि परेला भिजाएर हलबाट निस्केका अधिकांश दर्शकले फिल्मले निकै भावुक बनाएको प्रतिक्रिया दिए।
पूर्वपति छविराजले निर्माण गरेको फिल्म हेर्न अभिनेत्री रेखा थापाका साथै वरिस्ठ कलाकार नीर शाह, निर्देशक छेतेन गुरुङ लगायतका व्यक्तिहरुको समेत उपस्थिति थियो।
फिल्म हेरेपछि रेखाले भनिन्, ‘एकदमै मन छोयो, धेरै वर्षपछि यस्तो फिल्म हेर्न पाइयो।'
उनले सानो छँदा हेरेको 'दर्पणछाया' जस्तै 'मंगलम' मार्मिक रहेको पाएको भन्दै फिल्मको प्रशंसा मात्र गरिनन्, यस्ता फिल्महरु नेपालमा बन्न छोडेकोमा छविराजले उत्कृष्ट फिल्म बनाएको समेत बताइन्।
रेखाले थपिन्, 'यो फिल्मबाट छविराजले नेपाली फिल्म कस्तो हुनुपर्छ भनेर पुष्टि गरेका छन्।' उनले निर्देशक नवल नेपालको कामको समेत खुलेर तारिफ गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।