राजविराज– स्टिमेट र सम्झौताअनुसार काम नभएपछि सप्तरीको ‘वनैनियाँ–महुकी ट्राफिक चाेक सडक’ निर्माणमा अवरोध भइरहेकाे छ। स्थानीयले करिब ३ महिनादेखि लगातार विरोध गरिरहेका छन्। सम्झौताविपरीत गुणस्तरहिन काम र साँघुरो सडक बनाएको भन्दै जनप्रतिनिधिसमेत रुष्ट छन्।
अवरोधकै बीचमा पनि निर्माण काम चलिरहेको छ। तर, सुधार भने देखिएको छैन। सिरहाको लहानस्थित बज्रगुरु/विकास जेभीले सडक निर्माणको ठेक्का पाएको छ। २०७६ चैत २४ गते काम सम्पन्न गर्ने गरी २०७४ असोज २४ मा सडक डिभिजन कार्यालय लहान र निर्माण कम्पनीबीच सम्झौता भएको थियो।
कम्पनीले भ्याट बाहेक ९ करोड ६८ हजार ५९३ रुपैयाँ ५० पैसाको लागतमा पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिकाको ट्राफिक चाेकदेखि भारतीय सीमाक्षेत्र वनैनीयाँ (राजगढ गाउँपालिका–३)सम्म १० किलोमिटर पिच सडक निर्माण गरिरहेको छ। तर, सम्झौता अनुसार काम नभएको स्थानीयले आरोप लगाएका छन्। सम्झौता अनुसार ६ मिटरको पिच र दुवै साईड २/२ मिटरको पेटि निर्माण गर्नुपर्ने छ। तर, अधिकांश स्थानमा पुरा सडकको चौडाई नै ६ मिटरभन्दा बढी नभएको राजगढ–२, वनैनियाँका सिताराम सिंह बताउँछन्। ‘कतै–कतै त सडकको पूरा चौडाई नै ५ मिटर छ,’ उनले भने, ‘पिच र पेटी कसरी छुट्याउने?’
तत्कालीन नर्घो गाविसका अध्यक्ष तथा राजपाबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवारसमेत रहेका मुसहरु यादवले सडक डिभिजन कार्यालयका कर्मचारीकै मिलेमतोमा सडक निर्माणमा लापर्वाही गरिएको आरोप लगाए। ‘एक/दुई ठाउँमा पिच गर्न सुरु भइसक्यो, तर मापदण्ड अनुसारको चौडाई र पेटि कतै छैन,’ उनले भने, ‘जति काम भएको छ, त्यो पनि गुणस्तरहिन छ। प्राविधिकले हेरे हुन्छ।’ सडक बनाउँदा विभिन्न चरणमा रोलरको प्रयोग गर्नु पर्ने भएपनि रोलरको प्रयोग कतै नभएको उनले दाबी गरे।
वडाध्यक्ष नै पीडित
राजगढ गाउँपालिका २ का वडाध्यक्ष ललितप्रसाद सिंहले पनि सडक निर्माणको काममा असन्तुष्टि जनाए। ‘हामीले त्यस विषयमा पटक–पटक सचेत गराएका छौं, वनैनिया क्षेत्रमा जथाभावी गरेपछि २ महिनाअघि काम पनि रोक्यौ। तर, समस्याको समाधान खोज्ने भन्दा पनि राती/राती गिट्टि झार्ने काम भइरहेको छ। सुनुवाइ कसैले गर्दैन,’ उनले भने।
निर्माण व्यवसायी र सडक डिभिजनका जिम्मेवार मान्छे तथा प्राविधिक निर्माण स्थलमा नआउने अनि जिम्मेवारी लिएका ब्यक्तिले स्थानीय र जनप्रतिनिधिको कुरा नसुन्दा गुणस्तरहिन काम भइरहेको उनको बुझाइ छ। ‘इन्जिनियर/ओभरसियर र प्राविधिक ज्ञान भएका ब्यक्तिले अनुहार पनि देखाउँदैनन्,’ उनले भने, ‘सडकका डिभिजनका कर्मचारीलाई बाेलाउँदा आउँदैनन्, भेट्न जाँदा हुँदैनन्।’
मापदण्ड र स्टिमेटअनुसार काम नभएको विषयमा वडा कार्यालयले २०७६ भदौ १७ र २०७६ कात्तिक ०४ गते गरी दुई पटक सडक डिभिजन कार्यालयलाई पत्राचार पनि गरेको छ। तर, त्यसको जवाफ नपाएको अध्यक्ष सिंहले गुनासो गरे। ‘जिल्ला प्रशासन कार्यालय समेतलाई बाेधार्थ दिएका छौं। जवाफ पनि आएन, काममा सुधार पनि छैन’ उनले थपे, ‘सडक डिभिजनका इन्जिनियरले आउँछु भनेको पनि तीन महिना पुग्यो, अहिलेसम्म भेट भएको छैन।’
दुई पटक कर्मचारी (खरिदार- विनयकुमार यादव)लाई लहानस्थित सडक डिभिजन कार्यालयमा पठाउँदा समेत कर्मचारी नभेटिएको उनले समस्या सुनाए। ‘कार्यालयमा जाँदा भेटिँदैनन्, फोन गर्दा उठाउँदैनन। आजित बनाइसके’ वडाध्यक्ष सिंहले थपे, ‘फोन उठाएको वेला पनि हेर्न आउँछु भन्छन्, तर वोलाउन थालेको ३ महिना बित्यो। आएका छैनन्।’
स्टिमेटअनुसार काम गरभन्दा उल्टै अवारोध गरेको आरोप लाग्न थालेको सिंहको भनाइ छ। ‘अवरोध गरेको हो की के गर्न खोजेको हो? जिम्मेवार निकायले हेरी दिए हुन्थ्यो नि,’ उनले भने, ‘यत्रो समस्या छ, करोडौको काम खेलाचीमै चलिरहेको छ। कसैलाई मतलव छैन।’
पैसा देखेपछि लुट्न खोज्ने र दुईचार जनालाई चित्त बुझाएपछि जसो गरेपनि हुने प्रवृत्तिले हैरान बनाएको उनले बताए। ‘कोहि अगाडि पर्न चाहँदैन, म एक्लो ब्यक्तिले को–को सँग लडौं?’ उनी भन्छन्, ‘२० मा १९ भए मान्न सकिन्छ, काम चै लाजमर्दो गरेर खर्लप्प खान खोजेपछि कसरी हेरेर बस्न सकिन्छ?’
जनप्रतिनिधिले अवरोध गरे
निर्माण कम्पनीका तर्फबाट कामको रेखदेख गरिरहेका स्थानीय युवा सौरभ सिंहले जनप्रतिनिधिका कारण काममा अवरोध भइरहेको गुनासो गरे। ‘उनीहरुविरुद्ध हामीले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छौं,’ सिंह भन्छन्, ‘सहयोग गर्नुपर्ने निकाय नै अवरोध गर्न थालेपछि कसरी काम गर्ने?’ २/३ महिनाअघि केहि ब्यक्तिहरु सहयोग माग्दै आएको र दिन नसकेपछि काममा अवरोध सुरु भएको उनले बताए।
वडाध्यक्ष ललितनारायण र पूर्वअध्यक्ष मुसहरुसमेतका केहि ब्यक्ति नियतपुर्वक काममा अवरोध गर्न थालेको आरोप छ। ‘९ बजे राति ट्रिपरमा ढुङ्गा हान्न पुग्छन्,’ उनले भने। स्टिमेटअनुसार सडको चौडाई नपुगेको र पेटि निर्माण नभएको विषय भने उनले स्विकार गरेका छन्। तर, स्थानीयवासीले जग्गा नदिएका कारण समस्या भएको उनको भनाइ छ। पिच निर्माणको काम सम्पन्न भएपछि पेटि निर्माणका लागि प्रयास गरिने उनले बताए।
स्टिमेटमै नभएको कुरा कसरी गर्ने? इन्जिनियर
सप्तरी क्षेत्र हेर्ने सडक डिभिजन कार्यालय लहानका इन्जिनियर नविन साहले स्टिमेट अनुसार गुणस्तरीय काम भइरहेको दाबी गरे। ‘हाम्रा ओभरसिर पंकजकुमार यादव प्रत्येक दिन फिल्डमै हुन्छन। म पनि २/३ दिनमै पुगेको हुन्छु,’ उनले भने, ‘काम राम्रो भइरहेको छ। गुणस्तरहिन भन्नु आरोप मात्रै हो।’ कतिपय स्थानीयहरुले चौडाई नपुगेको भनेर गुनासो गरेपनि ठेकेदारले सम्झौताअनुसारको माटो भर्ने काम गरिसकेको उनको भनाइ छ।
सम्झौता अनुसार १० मिटरको सडक बन्नु पर्नेमा ६ मिटर मात्रै छ? भन्ने प्रश्नमा भने साहले स्पष्ट जवाफ दिन सकेनन्। स्टिमेटमै नभएको कुरा गर्नुपर्छ भनेर कार्यालयले भन्न नमिल्ने उनले बताए। ‘स्टिमेटअनुसार १६ हजार घन मिटर माटो भर्नुपर्ने थियो, त्यो सकियो,’ साह भन्छन्, ‘बाँकी काम पनि पुरा गर्न हामीले चिठी काटेर आग्रह गरेका थियौ, तर निर्माण कम्पनीले स्टिमेट भन्दा एक इन्च बढी काम गर्दिन भन्छ। खल्तीबाट पैसा हालेर कस्ले काम गर्लार?’
वडाध्यक्षले पटक-पटक बाेलाउँदा किन भेट नगरेको भन्ने प्रश्नमा साहले भने, ‘हामीले आफ्नो काम गर्ने हो, वडाध्यक्षलाई खोजेर भेट गर्नु सम्भव छैन।’ कार्यालयको पत्रको जवाफ नदिएको विषयमा भने उनले बाेल्न चाहेनन्।
मेरो जानकारीमा छैनः सिडिओ खनाल
सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिल खनालले सडक निर्माणमा देखिएको समस्या र उजुरीका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। सडक डिभिजन कार्यालयमा आफूले त्यस विषयमा बुझ्ने र समस्या समाधानका लागि प्रयास गर्ने उनले बताए। ‘त्यस विषयमा मलाई अहिलेसम्म कुनै जानकारी छैन, पहिला बुझेर अनि समाधान खोज्छु,’खनालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।