राजविराज– तराई व्याप्त दाइजो प्रथाका कारण नेपालगञ्जमा भएको वास्तविक घटनामा आधारित फिल्म ‘राज्जा रानी’ को मैथिली भर्सनलाई घुम्ती हल मार्फत प्रदर्शन गर्न थालिएको छ।
सप्तरीको तिरहुत गाउँपालिकास्थित लोहजराबाट घुम्ती हलमार्फत प्रदर्शनको सुरुवात गरिएको हो। प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले फिल्मको घुम्ती प्रदर्शनको उद्घाटन गरे। पहिलो दिन करिब ४ सय जनाले फिल्म हेरेको निर्माता राजकुमार महतोले बताए।
सिनेमामा हलको पहुँचबाट टाढा रहेका र भाषाका कारण चलचित्र हेर्नबाट वञ्चित भएका गाउँलेहरुलाई केन्द्रित गरेर घुम्ती हलको अवधारणा ल्याइएको उनले बताए।
उनले भने, ‘दहेज प्रथा विरुद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएकाले जतिसक्दो धेरैलाई फिल्म देखाउनु हाम्रो उद्देश्य हो।’
मैथिली भर्सनको निर्माण र प्रदर्शन अधिकार लिएको भोर कम्पनीले प्रदेश नम्बर १ र २ अन्तर्गत मोरङदेखि पर्सासम्मका १० जिल्लामा घुम्ती हल मार्फत फिल्म प्रदर्शन गर्न लागेको महतोको भनाइ छ। ‘भोर’ बालविवाह र दाइजोप्रथा विरुद्ध काम गर्दै आएको संस्था हो।
‘प्रत्येक जिल्लामा ६ ठाउँका दरले ६० ठाउँमा चलचित्र प्रदर्शन गर्ने योजना छ’ उनले भने, ‘प्रदर्शनका क्रममा स्थान थपघट पनि हुनसक्छ।’ चलचित्र प्रदर्शनवाट उठेको रकम सामाजिक काममा नै खर्चिने उनले सुनाए।
‘राज्जा रानी’ गत पुस २१ गते देशभरका हलहरुमा प्रदर्शन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।