कुनै समय बलिउड अभिनेत्री करिश्मा कपुरले ‘बिबी नम्बर वान’ फिल्ममा अभिनय गरेकी थिइन् । श्रीमान् सञ्जय कपुरसँग डिभोर्स गरेकी उनले आफूलाई ‘बिबी नम्बर वान’ बनाउन सकिनन्, तर आफूलाई ‘मदर नम्बर वान’ चाहिँ साबित गरिन् ।
उद्योगी सञ्जयसँग डिभोर्स गरे पनि करिश्माले उनका तर्फबाट दुई सन्तान जन्माएकी छिन्, जेठी छोरी समैरा र कान्छो छोरो कियान । उनले ‘डेन्जरस इश्क’मार्फत बलिउडमा कमब्याक गरिसकेकी छिन् । उनको अघिल्लो फिल्म ‘इश्क’ले जति ‘डेन्जरस इश्क’ले सफलता कमाएन, तर फिल्ममा करिश्माको अभिनय र आमा बनेपछि पनि उनको ‘फिट एन्ड फाइन’ शरीरको भने सर्वत्र तारिफ भयो ।
अहिले उनी विज्ञापन, फिल्म, टेलिभिजन कार्यक्रम र सार्वजनिक कार्यक्रममा व्यस्त भइरहन्छिन् । तर, जतिसुकै व्यस्त भए पनि उनले सन्तानलाई आमाको कमी महसुस हुन दिएकी छैनन् । ‘यसका लागि मैले दिनभरिको समयतालिका सुरुमै बनाउने गरेकी छु । यसो गर्याे भने सबै कुराका लागि समय छुट्याउन सकिन्छ,’ उनले भनिन् । छोराछोरीलाई वाकमा लैजाने, नुहाइधुवाइ गरिदिने तथा उनीहरूका लागि खाना पकाइदिने जम्मै काम करिश्मा आफैले गर्ने गरेकी छिन् ।


करिश्माले छोराछोरीलाई अहिलेदेखि नै अनुशासनको पाठ पढाइरहेकी छिन् । ‘समाजमा रहन व्यक्तिले केही अनुशासन पालना गर्नैपर्छ । यसका लागि बच्चैदेखि मानिसलाई अभ्यस्त गराउन सकियो भने सहज हुन्छ,’ उनी भन्छिन्, ‘आफ्नो तर्फबाट मैले सन्तानलाई यस्ता कुरामा अभ्यस्त गराउने काम गरिरहेकी छु । म घरमा नहुँदा के गर्ने, के नगर्ने, कुनकुन कुरा चलाउने र कुन कुरा नछुने भन्ने बताउने गरेकी छु । कुनै कुरामा दुई जनाबीच मनमुटाव भयो भने कसले भनेको कुरा लागू हुने भन्ने पनि मैले बताउने गरेकी छु ।’
आफू घरमा भएको बेला मात्रै टीभी हेर्न छोराछोरीलाई उनले छुट दिएकी छिन् । ‘टीभी धेरै हेरे भने पढाइ बिग्रला कि भन्ने डर लाग्छ,’ उनी भन्छिन् । सन्तान बुझ्ने भएपछि आफू सिंगल मदर हो भन्ने कुरा उनीहरूलाई बुझाउनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘उनीहरूलाई यस्तो कुरा बुझाउन सकियो भने उनीहरू विवेकी बन्दै जान्छन् भन्ने मलाई लाग्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।