मुम्बई (एजेन्सी)– दीपिका पादुकोण अहिले बलिउडकी सबैैभन्दा सफल र महंगो अभिनेत्री मानिन्छिन्। तर कुनै बेला उनको पहिचान ब्याकग्राउन्ड मोडलको रुपमा मात्र सिमित थियो।
केही समयअघि सार्वजनिक भएको एउटा तस्बिरमा दीपिका बलिउडका पूर्वअभिनेता फरदिन खानको एउटा कार्यक्रममा ब्याकग्राउन्ड मोडलको रुपमा उभिएको देखा परेकी छिन्। अहिले फरदिनको फिल्मी करिअर समाप्त भइसकेको छ। तर, दीपिका अभूतपूर्व एक्टिङका कारण चर्चामा छिन्।

भर्खरै सार्वजनिक तस्बिर फरदिनको फिल्म ‘नो इन्ट्री’ रिलिजपछिको हो। जसमा दीपिका ब्याकग्राउण्ड मोडलको रुपमा फरदीनको धेरै पछाडि उभिएकी छिन्। यो घटनाको १३ वर्ष बितिसक्दा जहाँ फरदीनको नाम धेरैले बिर्सिसकेका छन्, दीपिका भने बलिउडको उत्कृष्ट अभिनेत्रीको रुपमा स्थापित भइसकेकी छिन्।
दीपिका अहिले एउटा फिल्मको ११ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छिन्।
सन् २००७ मा ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यू गरेकी दीपिका यसअघि मोडलिङ गर्थिन्। हिमेश रेसमियाको म्युजिक भिडियो ‘नाम हे तेरा तेरा’ मा काम गर्ने क्रममा ‘ओम शान्ति ओम’ की निर्माता फराह खानको आँखा दीपिकामा परेको थियो। यसपछि फराहले उनलाई फिल्मको लागि अफर गरेकी थिइन्।

दीपिकाले ८ वर्षको उमेरमा लिरिल र क्लोज–अपजस्ता ब्रान्डको विज्ञापनमा अभिनय गर्ने गर्ने मौका पाएकी थिइन्। मोडलिङ गर्दा उनको अफेयर्स मोडल निहार पान्ड्यासँग थियो। उनीहरूको भेट एक्टिङ स्कुलमा २००५ मा भएको थियो। तीन वर्ष लिव–इन–रिलेशनमा बसेपछि दीपिकाले ब्रेकअप गरेकी थिइन्। मोडलिङ गर्दा दीपिका निहारकै घरमा बस्ने गर्थिन्।
दीपिकाको पहिलो फिल्म ‘कन्नड’ भाषाको थियो। उनले २००६ मा ‘ऐश्वर्या’ मार्फत ठूलो पर्दामा इन्ट्री गरेकी थिइन्। फिल्म हिट पनि भएको थियो।

हिन्दी फिल्महरु ककटेल, ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस, गोलियो कि रासलिला–रामलिला, हेप्पी न्यु ईयर, पिकू, तमाशा, बाजीराव मस्तानी र पद्मावत दीपिकाका निकै हिट फिल्मको सूचीमा पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।