नयाँ दिल्ली (एजेन्सी)- अभिनेत्री उर्वशी रौतेला अभिनीत फिल्म 'हेट स्टोरी ४' शुक्रबार रिलिज भएको छ। ट्रेलर सार्वजनिक भएदेखि नै बोल्ड सिनका कारण निकै चर्चामा रहेको फिल्म दर्शकलाई खासै मन नपरेको बक्स अफिसले देखाएको छ। रिलिजको दिन हलहरुमा थोरै मात्र दर्शक पुगे।
बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन ३.७६ करोड भारु कमाएको छ। फिल्म समीक्षकहरुले राम्रो रेटिङ नदिए पनि सप्ताहन्तमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
विशाल पाण्ड्याले निर्देशन गरेको फिल्ममा उर्वशी रौतेलाका साथै करन वाही, सुरज पन्चोली र गुरमीत चौधरी मुख्य भूमिकामा छन्।
'हेट स्टोरी' सिरिजको सुरूआत सन् २०१३ मा भएको थियो। विवेक अग्निहोत्रीको निर्देशनमा बनेको सो फिल्मको मुख्य भूमिकामा अभिनेत्री पाओली दाम थिइन्। नौ करोडको बजेटमा बनेको फिल्मले १६ करोड ४३ लाख कमाएको थियो।
यसपछि विशाल पाण्ड्या २०१४ मा 'हेट स्टोरी २' लिएर आए। यसमा सुरवीन चावला, जय भानुशाली र सुशांत चावला मुख्य भूमिकामा देखिएका थिए। १५ करोडमा बनेको फिल्मले बक्स अफिसमा ३१ करोड १ लाख बटुलेको थियो।
यो सिरिजको लोकप्रियता देखेर विशाल पाण्ड्याले २०१५ मा 'हेट स्टोरी ३' ल्याए। जरीन खान, डेजी शाह, करन सिंह ग्रोवर र शरमन जोशी मुख्य भूमिकामा रहेको सो फिल्म पनि निकै बोल्ड थियो। फिल्मका गीतहरु निकै लोकप्रिय भएका थिए। २० करोडमा बनेको फिल्मले ५५ करोड कमाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।