काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिय स्तरको हास्यव्यंग्यात्मक रियलिटी शो 'कमेडी किङ' हुने भएको छ। अनलाइन टेलिभिजन टिभी अन्नपूर्णले पत्रकार सम्मेलन गरी रियलिटी शोबारे जानकारी गराएको हो। शो नेपाली अनलाइन टेलिभिजनको सहकार्यमा निमार्ण तथा प्रसारण हुनेछ।
बैसाखदेखि देशभरबाट आवेदन संकलन गरी प्रतिस्पर्धात्मक शो आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुन्दर पुनले जानकारी दिए।
देशभरका झन्डै ४० हजार सहभागी हुने अपेक्षासहित गर्न लागिएको शोमार्फत कमेडी किङ बन्ने प्रतियोगीले निशानको सब्सीडरी बजेट कार ड्याटसन रेडी गोसहित नगद पुरस्कार पाउनेछन्। त्यसैगरी दोस्रो र तेस्रो हुने प्रतियोगीलाई दुबई, कतार लगायत युरोप भ्रमणको प्याकेजसहित क्रमश: १० लाख र ५ लाख नगद पुरस्कार प्रदान गर्ने कार्यकारी निर्देशक राजकुमार बिष्टले जानकारी गराए।
पछिल्ला वर्षमा हास्यव्यंग्यको क्षेत्रमा नयाँ कलाकारको उपस्थिति घटेकोले नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको टिभी अन्नपूर्णका अध्यक्ष राजु सुवेदीले पत्रकार सम्मेलनमा बताए।
बैसाखदेखि सातै प्रदेशका सदरमुकामसहित नारायणगढ, इटहरी र काठमाडौँ गरी १० सहरमा प्रि अडिसन हुनेछ। जसमा सहभागी हुने मध्येबाट १ सय जनालाई मेगा अडिसनका लागि छनोट गरिनेछ। छनोट भएका प्रतियोगीलाई काठमाडौँमा ल्याउने र मेगा अडिसनमा छनोट भएका मध्येबाट फेरि उत्कृष्ट ३० जना छनोट हुनेछन्। छनोट भएका ३० जनामध्येबाट पनि २० जना उत्कृष्टलाई छनोट गरिनेछ।
टप २० देखि दर्शकको भोटिङ हुँदै हरेक हप्ता गर्ने प्रस्तुतिका आधारमा ३ जना फाईनल प्रतिस्पर्धामा सहभागी हुनेछन्। प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने पनि आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।