नयाँ दिल्ली– बलिउड अभिनेत्री श्रीदेवीको अस्तु हरिद्वारमा विसर्जन गरिएको छ। श्रीमान् बोनी कपुरले हिन्दु परम्पराअनुसार विधिवत पूजा गरेर श्रीदेवीको अस्तु विसर्जन गरेका हुन्।
अस्तु विसर्जनमा बोनीसँगै भाइ अनिल कपुर र साथी मनिष मल्होत्रा पनि देखापरेका थिए। अस्तुलाई गंगा नदीमा विसर्जन गरिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। दुई वटा कलशमा राखिएको अस्तुलाई बोनी र अनिलले विसर्जन गरेका थिए।
यसअघि ४ मार्चमा पनि श्रीदेवीको अस्तु रामेश्वरममा विसर्जन गरिएको थियो। गत महिना २४ फेब्रुअरीमा श्रीदेवीको होटलको बाथटबमा दुर्घटनावश निधन भएको थियो। जसका कारण बलिउड दुःखी बन्न पुगेको थियो। उनको पार्थिव शरीरलाई २८ फेब्रुअरीमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो।
भारतीय सिनेमामा पहिलो सुपरस्टारको उपाधि पाएकी महिला नायिका श्रीदेवीको निधनको विषय अहिले पनि सेलाएको छैन। सानै उमेरदेखि फिल्ममा अभिनय गर्न थालेकी श्रीदेवीको निधन ५४ वर्षमा भएको थियो। उनी फेरि बलिउडमा फर्किने तयारीमा थिइन्। उनको दुई छोरीमध्ये जेठी जाह्न्वीको डेब्यु फिल्म तयारीको अवस्थामा छ।
श्रीदेवीले सद्मा, हिम्मतवाला, नागिन, मिस्टर इन्डिया, चाँदनी, चालबाज, लम्हे, खुदागवाह, जुदाई जस्ता चर्चित फिल्ममा काम गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।