काठमाडौं- चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘पंचायत’को रेडकार्पेट ‘प्रिमियर शो’ गरिएको छ।
शुक्रबार कुमारी हलमा भएको शोमा पूर्वप्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, अग्रज कलाकारसमेत सहभागी थिए।
फिल्म हेरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक-सांस्कृतिक चित्रण गर्न फिल्म सफल भएको प्रतिक्रिया दिए।

अर्का पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको बताए।
उद्योगमन्त्री मातृकाप्रसाद यादव, पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्र नेता वर्षमान पुन, जनार्दन शर्मा, एमालेका नेता योगेश भट्टराई, नेपाली कांग्रसका नेता मिनेन्द्र रिजाल लगायतका नेतासमेत फिल्म हेर्न पुगेका थिए।

२०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सांस्कृतिक विषयमा फिल्म केन्द्रित छ।
शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा सरोज खनाल र नायिका नीता ढुंगानाको शीर्ष भूमिका छ।
रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारी लगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन्। पंचायतले अमेरिकामा उत्कृष्ट अवार्ड पाइसकेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।