पोर्ट लुइस, मरिसस- आर्थिक अपचलन गरेको आरोप लागेकी मरिससकी राष्ट्रपति अमीनाह गरिब–फकिमले राजीनामा दिने भएकी छन्।
अफ्रिकी महादेशमै एक मात्र महिला राष्ट्राध्यक्ष रहेकी गरिब फकिममाथि एक गैरसरकारी संस्थाले उपलब्ध गराएको बैंक कार्ड प्रयोग गरी आर्थिक अपचलनमा संलग्न रहेको आरोप लागेको छ। उहाँले यही मार्च १२ मा हुने ५० औँ स्वतन्त्रता दिवसमा सहभागी भएपछि राजीनामा दिने तयारी गरेको बताइएको छ।
'गणतन्त्र मरिससका हाम्रा राष्ट्रपति गरिब–फकिमले राष्ट्रपतिको पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ। राष्ट्र प्रमुखबाट हुने उहाँको बहिर्गमनका लागि हामीबीच सहमति भएको छ,' प्रधानमन्त्री जुगनाउथले सञ्चारकर्मीसँगको कुराकानीमा भने। राष्ट्रपतिको राजीनामा कुन दिन हुने भन्ने विषयमा भने उनी बोल्न चाहेनन्। 'पदभन्दा राष्ट्रको हित सर्वोपरी हुने गर्छ। त्यसैले राष्ट्रका लागि आफ्नो पद त्याग्न तयार हुनुभएको छ,' उनले भने।
५५ वर्षीया गरिब फकिम सन् २०१५ मा मरिससको पहिलो राष्ट्रपति बनेकी थिइन्।
अन्तर्राष्ट्रिय रूपमा वैज्ञानिक तथा जीव विज्ञान विशेषज्ञका रूपमा ख्याति कमाएकी उनका बारेमा यहाँको एल एक्सप्रेस दैनिकले लण्डनस्थित प्लानेट इन्स्टिच्युट नामक गैरसरकारी संस्थाको नाममा रहेको बैंकको कार्डबाट हजारौँ अमेरिकी डलर बराबरको रकम झिकेको समाचार छापेको थियो।
क्रेडिट कार्ड उपलब्ध गराउने उक्त संस्थाको संस्थापक एङ्गोलियाली अर्बपति अल्भारो सोब्रिन्हो पनि उक्त गैरकानुनी आर्थिक कारोबारमा आरोपित भएकाले उनीमाथि समेत छानबिन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।