काठमाडौं– गुम्म परेको कोठामा एक युवती कुर्सीमा डोरीले बाँधिएकी छन्। जमिनदारकी छोरी उनी अपहरणमा परेपछि जीवनरक्षाका लागि विलौना गरिरहेकी छन्। यस्तो अवस्थामा भेटिने युवती थिइन्, अभिनेत्री वर्षा शिवाकोटी।
वनस्थलीस्थित फिल्म विकास कम्पनी परिसरमा उनी आफ्नो नयाँ फिल्म ‘जय शम्भु’ को सुटिङमा व्यस्त थिइन्। अभिनेता अनुप विक्रम शाही, द्वन्द्व निर्देशक श्री श्रेष्ठ लगायतको फिल्म युनिटका साथ व्यस्त उनले द्वन्द्वको दृश्य छायांकनका क्रममा एक कलाकार दुर्घटनामा परेपछि केही समय विश्राम पाइन्। यही खाली समय वर्षाले हाम्रा लागि छुट्याइन्।
बाल्यकालमा वर्षाले कलाकार बन्ने सपना कहिल्यै देखेकी थिइनन्। बरु कुनै समय बैंकको अफिसर बन्नकै लागि बिबिए अध्ययन गरेकी थिइन्। तर, संयोगले उनी आज फिल्म क्षेत्रमा छाइरहेकी छिन्।
उनलाई लाग्छ, आफ्नो सपना र योजनामा कलाकारिता नरहे पनि रगतमा भने कलाकारिता रहेछ।
वर्षाले ‘नाइँ नभन्नु ल २’ बाट फिल्मी करिअर सुरु गरेकी हुन्। अभिनय गरिरहे पनि उनी दर्शकमाझ खासै नोटिस भइरहेकी थिइनन्। यसै क्रममा उनीसामु फिल्म ‘पशुपतिप्रसाद’ आइपुग्यो। फिल्ममा उनी बोल्न नसक्ने पात्रको भूमिकामा थिइन्। त्यो मौन अभिनयको जादु यस्तो चल्यो, वर्षा सबैको नजरमा परिन्।
अन्तर्मुखी स्वभावकी वर्षालाई फिल्ममा चञ्चल र बोलक्कड रुपमा देख्दा उनलाई चिन्नेहरु चकित पर्ने गर्छन्। उनी बाल्यकालको आफू सम्झिन्छिन्, ‘बन्द कोठामा मेकअप गरेर नाच्ने, गाउने र अभिनय गरे जस्तो गरेर बस्थेँ। कोठामा कोही आइहाल्यो भने हत्तपत्त सामान्य अवस्थामा फर्किहाल्थेँ।’
जीवनमा कतिपय मसिना कुराले ठूलो अर्थ राख्छ। वर्षालाई पनि स्कुले बेलाको एउटा प्रसंगले जीवनकै फरक पारेको छ। विद्यालयको सामान्य कार्यक्रममा उनले अभिनय कला देखाउँदा त्यही नै उनको जीवनमा टर्निङ प्वाइन्ट बनिदियो। त्यसकै आधारमा उनले फिल्मको अफर पाइन्।
त्यसअघि बजारको हल्लाका आधारमा राम्रो छ भन्ने सुनेर बेलाबेला नेपाली फिल्म हेर्ने गरेकी वर्षा अकस्मात् आफ्नै लागि अभिनयको अफर आउँदा आश्चर्यमा परेकी थिइन्। उनले रोमाञ्चित भावमा त्यो बेलाको अनुभूति सुनाइन्, ‘मैले फिल्ममा कुनै दिन अभिनय गरुँला भनेर चिताएकै थिइनँ। चिट्ठा परे जस्तै लागेको थियो।’
अभिनयको संसारमा आउँदा ‘नाइँ नभन्नु ल २’ वर्षाको लागि पहिलो परीक्षा थियो। तर, त्यसबेला उनले यसलाई चुनौतीभन्दा पनि अवसरका रुपमा लिइन्। आफूले फिल्म र टेलिभिजनका पर्दामा हेर्दै आएका सरोज खनाल, प्रियंका कार्की, सुरजसिंह ठकुरी लगायका कलाकारसँगको सहकार्य नै ठूलो सम्झेर अभिनयका लागि तयार भइन्।
फिल्म नगरीमा नयाँ अभिनेत्रीलाई अनावश्यक दुःख दिने, शोषण गरिने जस्ता धेरै कुरा वर्षाले सुनेकी थिइन्। तर, उनले आफ्नो यात्रामा त्यस्तो कुनै नकारात्मक अनुभवको सामना गर्नुपरेन। उनले अहिलेसम्म ७ वटा फिल्ममा अभिनय गरिसकेकी छन्।
वर्षाले अभिनय गरेका फिल्ममध्ये ‘पशुपतिप्रसाद’ले उनको परिचयलाई दर्शकमाझ जति विस्तार गर्यो, त्यति नै उनलाई सन्तुष्टि दियो ‘कारखाना’मा गरेको अभिनयले। नारीप्रधान सो फिल्ममा उनी मुख्य भूमिकामा थिइन्।
कम बोल्ने र हत्तपत्त मान्छेहरुसँग घुलमिल भइनहाल्ने आफ्नो स्वभाव जस्तै वर्षा ‘नाइँ नभन्नु ल २’ र ‘पशुपतिप्रसाद’मा निर्दोष चरित्रमा देखिइन्। ‘लप्पन छप्पन’मा भने ग्याङ्स्टर भूमिकामा आइन्। अर्को फिल्म ‘सुब्बा साब’मा पनि उनले नकारात्मक भूमिकामा काम गरिन्। आउन लागेको ‘भैरे’मा कमेडियनको रोलमा देखिने उनले सुनाइन्।
अहिले सुटिङ भइरहेको ‘जय शम्भु’ लगत्तै ३–४ वटा प्रोजेक्टमा व्यस्त रहने उनको समयतालिका बनिसकेको छ।
वर्षा अभिनय, सफलता र व्यापारिक सफलतालाई फरक–फरक कोणबाट हेर्छिन्। अहिलेसम्म काम गरेका फिल्महरुमध्ये केही व्यापारिक रुपमा असफल भए पनि क्यारेक्टर सफल भएकोमा उनी खुसी छन्।
हिरोइन भन्नेबित्तिकै अभिनयसँगै नृत्यको कुरा पनि आइहाल्छ। उनी नृत्यकलाबाटै अभिनयमा प्रवेश गरेको भए पनि पारंगत नृत्यांगना भने होइनन्। आजसम्म नृत्य तथा अभिनयको कुनै तालिम लिएकी छैनन्। विद्यालय स्तरमा सिकेको नृत्यकलाले नै करिअरमा भरथेग गरिरहेको छ।
सिकाइको कुरा गर्दा यसलाई उनले काम र लगनसँग जोडिन्, ‘अभिनय यात्रामा म सिक्ने क्रममै छु। जति बुझ्दै गइन्छ, त्यति नै त्यसप्रति झुकाव पनि बढ्दै जाने रहेछ। अहिले मलाई दर्शकसामु अझ राम्रो काम गरेर देखाउने रहर बढ्दै गएको छ।’
अभिनयलाई नै जीवन बनाएर अघि बढिरहँदा वर्षाको ड्रिम रोल कस्तो छ त?
उनी यसमा प्रस्ट छिन्, गहिरो प्रेमभावमा डुबेको चरित्रमा जमेर काम गर्ने। त्यस्तो प्रोजेक्टको पर्खाइमा छिन्।
उनका अनुसार, अभिनय यात्रामा अहिले उनीसँग जोस र जाँगर छ। केही वर्ष काममै लिप्त भएर रमाउने योजनामा रहेकी उनी अहिले अभिनय बाहेकको विकल्प सोच्नै नसक्ने बताउँछिन्।
भन्छिन्, ‘कुनै बेला उच्च अध्ययन र अभिनयको दुई बाटोमा रहँदा के गर्ने भनेर मसँग निर्णय गर्ने क्षमता नै थिएन। पछिल्लो समय चाहिँ फिल्म क्षेत्र केही सुधारोन्मुख हुनुका साथै दर्शकको माया र हौसलाले पनि हुन सक्छ, अभिनय बाहेक मसँग कुनै विकल्प नै छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।