काठमाडौं- मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली बिजकको प्रयोग गर्ने दुई फर्म विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले ८६ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागले प्रभा इन्टरप्राइजेजका सञ्चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका ११ घर भएका रामप्रसाद चौलागाईं विरुद्ध ५९ लाख ४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। विभागका अनुसार उनीविरुद्ध बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग दावीसहित मुद्दा गरिएको छ।
कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली भ्याट बिल बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको भेटिएको विभागले जनाएको छ। यो कम्पनीले मुअकरतर्फ १७ लाख २६ हजार र आयकरतर्फ ४१ लाख ७८ हजार रुपैयाँ राजस्व चुहावट भएको विभागको भनाइ छ।
यसैगरी काभ्रेकै चौरीदेउराली गउँपालिका वडा नं ५ घर भइ काठमाडौं महानगरपालिका वडा नं ३२ मा जिपिसी ट्रेडर्स स्थापना गरी कारोबार गर्दै आएका रामकृष्ण ढकाललाई राजस्व चुहावट गरेको अभियोगमा २७ लाख ७२ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
यो कम्पनीले पनि वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा बिल बिजकर मात्रै खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।