लस एन्जलस- सोमबार सम्पन्न एकेडेमी अवार्डमा सर्वोत्कृष्ट अभिनेत्री ठहरिएकी फ्रान्सेस म्याकडोरमान्डको ओस्कार अवार्ड चोरी भएको छ। अवार्ड सेरेमोनी सकिएपछि अमेरिकाको हलिउडस्थित गभर्नरस् बलबाट सो अवार्ड चोरी भएको प्रहरीले पुष्टि गरेको हो।
अवार्ड चोरी गर्ने ४९ वर्षीय टेरी ब्रेन्टलाई लस एन्जलस प्रहरीले पक्राउ गरेको छ। पक्राउपछि प्रहरीले ब्रेन्टलाई २० हजार अमेरिकी डलर धरौटीमा रिहा गरेको बताइएको छ। प्रहरीका अनुसार आवश्यक परेको समयमा अदालतमा उपस्थित हुनुुपर्ने शर्तमा उनलाई रिहा गरिएको हो।
प्रहरीले सो ओस्कार अवार्ड अभिनेत्री म्याकडोरमान्डलाई फिर्ता दिएको छ।

चोरी भएको ओस्कार अवार्ड हात परेपछि अभिनेत्री म्याकडोरमान्डका प्रतिनिधीको भनाइलाई उदृत गर्दै ‘युएसए टुडे’ले लेखेको छ–‘फ्रान्सेसको हातमा पुनः ओस्कार अवार्ड आइपुगेको छ। अहिले उनीहरुले बर्गरको आनन्द लिइरहेका छन्।’
लस एन्जलस प्रहरीका अनुसार चोरी गर्ने ब्रेन्ट समारोह सकिएपश्चात् भएको औपचारिक खाना सत्रका लागि टिकट प्राप्त व्यक्ति थिए। सोहि क्रममा नै अवार्ड चोरी गरिएकोे थियो।
तर चोरी हुनुपूर्व नै अवार्डमा म्याकडेरमान्डको नाम भने अंकित गरिसकिएको थियो।
‘आफ्नै बाटो बनाएर हिडौँ’
म्याकडोरमान्डले चलचित्र ‘थ्री बिलबोर्डस आउटसाइड इबिङ’का लागि ओस्कार प्राप्त गरेकी थिइन्।
अवार्ड प्राप्त गरेकी अभिनेत्री म्याकडोरमान्डलाई समारोहमा आफ्ना विचारहरु राख्ने मौका दिइएको थियो। सो क्रममा उनले सम्पूर्ण महिला अभिनेत्रीहरुलाई आफ्नै बाटो बनाएर हिड्न आग्रह गरेकी थिइन्।
आफ्ना धारणाहरुलाई बिट मार्ने क्रममा उनले भनिन्,‘आज राती तपाइँका लागि मैले छोड्ने अब दुई शब्द मात्रै छन् ती हुन्– इन्क्लुजन राइडर।’
म्याकडोरमान्डको सो भनाइपश्चात् ती दुई शब्दको अर्थ जान्नका लागि गुगलमा धेरै पटक खोजी गरिएको थियो।

चलचित्रमा बलात्कारपछि हत्या गरिएकी एक युवतीकी आमामा देखिने प्रतिशोधलाई जीवन्त ढंगबाट प्रस्तुत तरेको कारण म्याकडोरमान्डलाई ओस्कार प्रदान गरिएको हो।
म्याकडोरमान्डले अवार्ड पाउनु अनौठो नभएको टिप्पणी गरिएको छ। उनले यही सिजनमा बाफटास र गोल्डेन ग्लोब्स अवार्ड समेत पाइसकेकी छिन्।
उनीसँगै स्याल्ली हावकिन्स ‘द सेप अफ वाटर’, मार्गट रुबी ‘आइ टोन्या’, सावइरेज रोनान ‘लेडी बर्ड’ र मेर्याल स्ट्रिव ‘द पोस्ट’बाट उत्कृष्ट अभिनेत्रीको अवार्डका आकांक्षी थिए।
यो उनको जीवनको दोस्रो ओस्कार हो। २१ वर्षअघि उनले चलचित्र ‘फार्गो’का लागि ओस्कार प्राप्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।