काठमाडौं- नेपालमा चिनियाँ लगानीको सहजीकरण र समन्वयका लागि गठित दुई देशको संयुक्त कार्यगत समूहको बैठक शुक्रबार बस्ने भएको छ। दुवै देशका सहसचिवस्तरीय कार्यगत समूहको पहिलो बैठक काठमाडौंमा बस्न लागेको हो।
चिनियाँ राष्ट्रपति सि चिनफिङको अघिल्लो महिना नेपाल भ्रमणका क्रममा गठित समूहको पहिलो बैठक यस महिना बस्न लागेको हो। नेपालको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र चिनियाँ पक्षबाट वाणिज्य मन्त्रालयका बाह्य लगानी हेर्ने निर्देशकको नेतृत्वमा बैठक बस्नेछ।
'चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा भएको सम्झौताअनुसार वर्किङ ग्रुपको पहिलो बैठक बस्न लागेको हो,’ सहसचिव नेपालले भने, 'चीनबाट नेपालमा हुने लगानीको सहजीकरण र समन्वयका विभिन्न पक्षमा यस बैठकमा छलफल हुनेछ।' नेपाल र चीनले प्रत्येक महिना लगानी सहजीकरण र समन्वयका लागि कार्यगत समूहको बैठक गर्ने समझदारी गरेका थिए।
नेपालमा चिनियाँ लगानीकर्तालाई सहजीकरण र समन्वय गर्ने गरी विभिन्न प्रस्तावहरुमा छलफल गर्ने तयारी भइरहेको छ। चिनियाँ लगानीकर्तालाई नेपालमा कुनै समस्या भए यही कार्यगत समूहले त्यसमाथि छलफल गरी समाधानका लागि काम अघि बढाउनेछ।
राष्ट्रपति सिको भ्रमणका क्रममा लगानी र व्यापारका लागि समन्वय गर्नका लागि छुट्टाछुट्टै कार्यगत समूह बनाउने गरी समझदारीमा हस्ताक्षर भएको थियो। व्यापारका लागि गठित कार्यगत समूहमा भने वाणिज्य मन्त्रालयको तर्फबाट प्रतिनिधित्व तथा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।