काठमाडौं- बहुराष्ट्रिय कम्पनी बर्जर जोनसन निकोल्सनले उत्पादन गरेको इनामेल गुणस्तरहीन रहेको भेटिएको छ। बर्जरले उत्पादन गरेको इनामेलमा सिसा (लिड)को मात्रा नेपाल गुणस्तरले तोकेको मापदण्ड भन्दा धेरै रहेको फेला परेको हो।
गुणस्तर तथा नापतौल विभागले उद्योग तथा बजारबाट नमुना संकलन गरी गरेको परीक्षणमा बर्जरले उत्पादन गर्दै आएको इनामेलमा सिसाको मात्रा धेरै भेटिएपछि कारबाही अघि बढाउने तयारी गरिएको छ।
नेपालको मापदण्डअनुसार इनामेलमा लिडको मात्रा ९० पार्ट्स् पर मिलियन (पिपिएम)भन्दा कम हुनुपर्नेमा बर्जरले उत्पादन गर्दै बजारमा पठटाएको इनामेलमा लिडको मात्रा मापदण्ड भन्दा दोबर बढी प्रयोग भएको फेला परेको छ।
बर्जरको बर्जरले उत्पादन गरेको 'हाइ ग्लोस इनामेल'को नुमना परीक्षणका क्रममा लिडको मात्रा १९० पीपीएम रहेको फेला परेको हो। 'हामीले गरेको नमूना परीक्षणमा यो कम्पनीको उत्पादनले गुणस्तर मापदण्ड पुरा गरेको भेटिएन,' विभाग स्रोतले भन्यो।
चालु आर्थिक वर्षमा विभागले उद्योग तथा बजार अनुगमन गरी १२ वटा पेन्ट्स कम्पनीले उत्पादन गरेको इनामेलको नमुना संकलन गरेको थियो। त्यसैको परीक्षणका क्रममा बर्जरका उत्पादनले गुणस्तर मापदण्ड पुरा नगरेको पाइएको हो।
विभागले संकलन गरेको कूल १२ मध्ये ६ वटा नमुना परीक्षण सम्पन्न भइ प्रतिवेदन तयार भएको छ। प्रतिवेदन तयार भएका ६ मध्ये ५ वटा पेन्ट्स कम्पनीले उत्पादन गर्ने इनामेल मापदण्ड भित्रै रहेको भए पनि बर्जरको भने मापदण्डभन्दा बढी रहेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
‘लिडको मात्रा मापदण्ड भन्दा दोब्बर नै बढी हो,’ पुडासैनीले भने, ‘अब यसमाथि कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ।’ कानुनमा मापदण्डविपरीतको सामान बिक्री वितरण बन्द गराउनेदेखि इजाजत रद्दसमेत गर्न सक्ने उल्लेख छ।
बर्जरसँगै एसियन पेन्ट्स, पशुपति र जसमिन पेन्ट्स कम्पनीले उत्पादन गरेको इनामेलमा मिसावट भएको लिडको मात्रा भने मापदण्डअनुसार नै रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।