काठमाडौं– अभिनेत्री रेखा थापा र उनका पूर्वपति निर्माता छविराज ओझा आफ्नो कामका साथै गसिपबाट बेलाबेला चर्चामा आइरहन्छन्।
जतिबेला रेखा र छविका फिल्म हलमा लाग्ने तयारीमा हुन्छन्, केही न केही गसिप फिल्म क्षेत्रमा छाइहाल्छ। तर, यस पटक छविराज ओझाको 'मंगलम'को प्रदर्शन मिति नजिकिँदै गर्दा खासै गसिप सुनिएको छैन। बरु पछिल्लो समय रेखा र छविको सुध्रँदो सम्बन्धको चर्चा चल्न थालेको छ।
एक-अर्काको जन्मदिनमा शुभकामना साटासाटदेखि रेखाको पछिल्लो पटक आएको फिल्म 'रुद्रप्रिया'को प्रिमियरमा छविको उपस्थितिलाई पनि यी दुईबीचको सम्बन्ध सुमधुर बनेको भनेर आकलन गर्न सकिन्छ।
यसैबीच रेखाले छविराजलाई फागुन २५ बाट रिलिज हुन लागेको फिल्म 'मंगलम'को सफलताको लागि शुभकामना दिएकी छन्। फेसबुकमा रेखाले लेखेकी छन्, 'नेपाली फिल्म क्षेत्रका बाले बनाएको फिल्म मंगलम यही शुक्रबार अर्थात् फागुन २५ देखि प्रदर्शनमा आउँदै छ। छवि बा र मंगलमका सम्पूर्ण टिमलाई सफलताको शुभकमाना।’ रेखाले सँगै लेखेकी छन्, ‘छवि ओझा तपाईं सधैं नं. १ निर्माता हुनुहुन्छ।’
रेखाको यस्तो कार्यलाई फिल्मक्षेत्रका विभिन्न व्यक्तिहरुले 'महान् सोचाइ' भन्दै बधाई दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।