काठमाडौं- नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले ३२ लाख सहयोग गर्ने भएको छ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामाग्री सहयोग गर्ने सम्झौता भएको हो।
सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतासँगै टेलिकमको लोगो अङ्कित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन्। सम्झौता अवधि एक वर्षको हुनेछ। कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने बताए।
सम्झौतासँगै प्रहरीका फुटबल खेलाडीले व्यवसायिकतासँगै खेललाई सँगै लैजान सहयोग पुग्ने उनको भनाइ थियो। प्रहरी र नेपाल टेलिकमबीच विसं २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ। सुरुको दिनमा पुरुष फुटबल खेलाडीका लागिमात्र प्रायोजन गर्दै आएको टेलिकमले विसं २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ।
सुरुका दिनमा वार्षिक १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।