काठमाडौं- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच एकता हुनेमा कुनै शंका नरहेको बताएका छन्।
सुखानीमा सहादत प्राप्त गरेकाहरुको सम्मानमा आयोजित ४५औं सहिद स्मृति दिवसका अवसरमा सोमबार एमाले पार्टी कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताए ।
‘केही प्रतिक्रियावादी एमालेका नेताहरु एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दै छन्। तर एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता कुप्रचारको कुनै अर्थ छैन’, प्रधानमन्त्री ओलीले भने।
सुखानीका सहिदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिबद्धता जनाए।
वाम गठबन्धनको बहुमतको सरकार देखेर केही मानिस आत्तिएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न बहानामा कमजोर पार्ने कोसिसहरु असफल हुने बताए। कम्युनिस्टहरुलाई फुटाएर फेरि आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने ओलीले टिप्पणी गरे।
‘सपनामा चकलेट खाएको देख्यो, ब्युँझिदा मुख गुलियो हुँदैन, कम्युनिस्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ’, उनले भने।
पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका २०२८ सालको झापा आन्दोलनका विद्रोही रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले चन्द्रगढीबाट इलाम जेल सार्ने क्रममा सुखानीको जंगलमा हत्या गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।