सुर्खेत– कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रमसहितको बजेटका लागि गृहकार्य सुरु गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट आउँदो असार १ गते नै सार्वजनिक गर्नेगरी तयारी थालिसकेको छ। त्यसअघि पूरक बजेट ल्याउने विषयमा पनि छलफल अघि बढाएको छ। तर, एकैपटक पूर्ण बजेट ल्याउने कि पूरक बजेट ल्याएर जाने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन।
‘सरकारले बजेट निर्माणको काम अघि बढाइसकेको छ’, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने, ‘आउँदो असार १ गते नै हामी बजेट भाषण गर्नेगरी जुटिसकेका छौं। तर, त्यसभन्दा अगाडिको चार महिनाका लागि पूरक बजेट ल्याउनुपर्ने अवस्था आउन सक्छ, त्यसका लागि पनि हामी छलफल गरिरहेका छौं।’
वार्षिक बजेट पारित हुनुअघि सरकारका कार्यक्रम तथा योजना कार्यान्वयनका लागि पूरक बजेटमार्फत काम गर्नुपर्ने हुनसक्ने मन्त्री ज्वालाको भनाइ छ। तर, यस विषयमा छलफल भइरहेको र चाँडै टुंगोमा पुगिने उनले बताए। बजेटको आकार र प्राथमिकताबारे विज्ञहरूको सुझावका आधारमा तय गर्ने सरकारको तयारी छ।
पूरक बजेट ल्याउने विषयमा टुंगो नलागे पनि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो। असार १ गते नै बजेट भाषण गर्नेगरी आवश्यक तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ।
प्रादेशिक संरचनामा गएपछि पहिलो पटक प्रदेश सरकारले बजेट तयार पार्न लागेको हो। प्रदेश सरकारले ल्याउन लागेको पहिलो बजेटमा स्थानीय आवश्यकताका आधारमा योजना छनोट गरिने मन्त्री ज्वालाको भनाइ छ। मन्त्रालयले त्यसका लागि आवश्यक विभिन्न विधेयकहरू निर्माण पनि भइरहेको जानकारी दिए।
मन्त्री ज्वालाका अनुसार, मन्त्रालयले बजेट निर्माणको तयारी स्वरूप विभिन्न विधेयक निर्माणको काम तीव्र पारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।