काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो काठमाडौं आइपुगेका छन्। विशेष बिमानबाट ३२ सदस्यीय टोलीसहित उनी नेपाल आएका हुन्।
प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन(सार्क)को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आएका हुन्।
ओलीले सोमबार नै अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन्। उक्त होटलमै दुई प्रधानमन्त्री बिचमा दुईपक्षीय वार्ता हुने कार्यक्रम छ।
अब्बासीको भ्रमणअघि पाकिस्तानको ‘एडभान्स टिम’ आएर सबै तयारी पूरा गरेको थियो।
पाकिस्तानको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी दुईपक्षीय सहकार्यमा शिक्षा, पर्यटन, व्यापार, सैनिक सुरक्षा, जनस्तरको सम्बन्ध लगायत आपसी हितमा छलफल हुने जनाएको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।