काठमाडौं– फेसबुकमा साथी बनाई उपहार पठाइदिएको भनेर ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शनिबार एक नाइजेरियनलाई पक्राउ गरेकोमा महानगरीय प्रहरी परिसर काठमाडौंले पनि त्यस्तै ठगीमा संलग्न २ जनालाई पक्राउ गरेको हो।
काठमाडौंको एक कलेजमा पढ्ने पवी क्षेत्री र लक्ष्मीदेवी चपाईलाई ब्रायन नामक फेसबुके साथीले ठगी गरेका हुन्। उनले ४० हजार पाउन्ड तथा लाखौंका गरगहना पठाइदिने भन्दै ठगी गरेका हुन्।
गहनाको फोटो समेत खिचेर ब्रायनले उनीहरुलाई फेसबुकमा पठाइदिएका थिए। त्यसपछि लोभिएका उनीहरु फसेका हुन्।
उक्त सामानको कर लाग्ने भन्दै एक व्यक्तिले दिल्लीबाट उनीहरुलाई फोन गरे। लाखौंको सामान आउने भएपछि उनीहरुले पनि लोभिएर ५१ लाख रुपैयाँ करबापत पैसा तिरे।
तर, सामान आएन, उल्टो थप करको रकम मात्र माग भइरह्यो। यसबीचमा ब्रायन पनि बोल्न छाडे।
ब्रायनले आफू धनी व्यापारी भएको प्रभावमा पारी उनीहरुलाई सहयोगको आश्वासन दिएर ठगी गरेका हुन्।
हुन्डी कारोबारी समातिए
उनीहरुलाई हुन्डीमार्फत करको रकम पठाउन लगाइएको थियो। त्यसरी हुन्डीमार्फत पैसा पठाउन उनीहरुले कुरियरमा काम गर्ने जयराम कार्कीलाई पैसा दिएका थिए। कार्कीले खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेसनल नामक कम्पनीका प्रबन्धक नारायण अग्रवाललाई पैसा दिएका थिए। नारायणले पंकज अग्रवाललाई दिल्लीमा पैसा पठाएका थिए। नारायण हाल फरार छन्। त्यस्तै, उनीसँगै हुन्डीको काम गर्ने राकेश गुप्ता पनि फरार रहेको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।
प्रहरीले नारायण अग्रवालको नाममा रहेको कस्मेटिक पसलबाट १५ लाख ९२ हजार ६२ रुपैयाँ बरामद गरेको छ। उनको मोबाइलमा हुन्डीसम्बन्धी म्यासेजहरु भेटिएको परिसरका डिएसपी मोहन थापाले बताए।
सो समूहले हरेक महिना करोडौंको हुन्डी गर्दै आएको अनुसन्धानमा खुलेको छ। सो समूहसँग ठगी गर्ने समूहको अनुसन्धान अघि बढाइएको डिएसपी थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।