काठमाडौं- संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुने भएको छ।
नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि आज दिउँसो ४ बजे एकै समयमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा एकै समयमा दुई सदको बैठक सुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।
प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो। हिजो मात्रै सांसदहरुको सपथ ग्रहण सम्पन्न भएको थियो।
नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था गरेको छ। प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो सदनका रूपमा रहेको छ। संघीय संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु हो।
आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन्। बैठकमा ज्येष्ठ सदस्यबाट राष्ट्रपतिले अधिवेशन आह्वानका लागि गरेको पत्र पढेर सुनाइनेछ। पहिलो बैठकले संसद्को कार्यसञ्चालनका लागि अन्तरिम कार्यविधि ०७४ पारित गर्नेछ।
प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय रहनेछ। राष्ट्रियसभा भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित ५६ तथा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन तीन गरी ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ।
पहिलो अधिवेशनका क्रममा सदन प्रारम्भ भएको १५ दिनभित्र सभामुख, उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्न राजनीतिक दलको सहमतिमा प्रस्ताव तयार गरिसकेको छ। दुई दलको समर्थनमा केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकाले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।