काठमाडौँ - मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ। दुई दलको समर्थनमा केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकाले नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यही फागुन २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रमसमेत तय भएको छ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो।
नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था गरेको छ । प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो सदनका रूपमा रहेको छ । संघीय संसद्को मुख्य जिम्मेवारी कानून निर्माण गर्नु हो।
प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय रहने छ । राष्ट्रियसभा भने प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित ५६ तथा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन तीन गरी ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ।
पहिलो अधिवेशनका क्रममा सदन प्रारम्भ भएको १५ दिनभित्र सभामुख, उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्न राजनीतिक दलको सहमतिमा प्रस्ताव तयार गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।