दार्चुला- महाकाली नदीमाथि एकतर्फी रुपमा निर्माण गरिएको ४ वटा पुललाई निरन्तरता दिन भारतीय पक्षले दबाब दिएको छ। भारतको पिथौरागढ जिल्लाको उत्तरपूर्वी सीमा क्षेत्रका नागरिकले आइतबार दिउँसो दार्चुला जिल्ला प्रशासनमा निवदेन दर्ता गर्दै पुल निर्माणलाई निरन्तरता दिन माग गरेका हुन्।
सो क्षेत्रमा आवागमन सहज बनाउन भन्दै दुईबुँदे मागसहित भारतीय नागरिकहरूले भारतले बनाइरहेको पुल निर्माण कार्यलाई निरन्तरता दिन तथा नेपाली भूमिका रहेको सडक मर्मतका लागि आग्रह गरेका छन्।
सो क्षेत्रका पाँच ग्राम पञ्चायत प्रधान, क्षेत्र पञ्चायत गब्र्याङका सदस्य तथा रं कल्याण संस्थाका तर्फबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिइएको हो।
ज्ञापनपत्र बुझाउन रं कल्याण संस्थाका महासचिव सहितको टोली आइतबार दार्चुला जिल्ला प्रशासन कार्यालय पुगेको थियो। भारतीय क्षेत्रका ग्राम पञ्चायतहरू कुटी, बुदी, नाबी, गब्र्याङ र नपल्च्युका ग्राम प्रधान, क्षेत्र पञ्चायत सदस्य विजयसिंह गब्र्याल तथा रं कल्याण संस्थाका महासचिवको हस्ताक्षर सहितको निवदेन दिएका छन्।

केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालको सहमतिबिनै पुल लगाएको हो। भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो। दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायी रुपमा काठेपुल लगाएको स्थानीयवासीले बताएका छन्। हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवतजावत गर्ने गरेका छन्। भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ।
हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवतजावत गर्ने गरेका छन्। भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ। केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो।
सीमा क्षेत्रमा देखिएको समस्याका बारेमा छलफल गर्न आज सोमबार भारतको पिथौरागढ जिल्लामा दुई देशका सरकारी अधिकारीको संयुक्त बैठक हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।