काठमाडौं- दुईदिने औपचारिक नेपाल भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी आज दिउँसो काठमाडौं अवतरण हुँदैछन्।
नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई बधाई ज्ञापन गर्न उनी नेपाल आउन लागेका हुन्। साथै दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनको आयोजनाबारे पनि अब्बासीले छलफल गर्नेछन्।
विशेष विमानमार्फत ३२ सदस्यीय टोलीसहित अब्बासी दिउँसो ३ बजे आउन लागेका हुन्। उनको भ्रमणको तयारीका लागि यसअघि नै पाकिस्तानी ‘एडभान्स टिम’ले सबै व्यवस्था मिलाइसकेको छ। अब्बासी नेपालमा १९ घन्टा रहनेछन् ।
यसैबीच, पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ (विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्रीलाई दिइने सम्मान गारत) दिइने भएको छ। प्रधानमन्त्री ओलीको निर्देशनमा टुँडिखेलमा यस्तो व्यवस्था गरिने भएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमै गार्ड अफ अनर दिने परम्परा रहेको थियो।
अब्बासी टुँडिखेलमा सम्मान गारत पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुनेछन्।
प्रधानमन्त्री अब्बासी इस्लामाबादबाट विशेष विमानमार्फत त्रिभुवन विमानस्थल उत्रनेछन्। उनी त्यसपछि सोझै होटल हायत जानेछन् र साढे ५ बजे टुँडिखेल आउनेछन्। टुँडिखेलमै प्रधानमन्त्री ओलीले स्वागत गर्ने कार्यक्रम छ।
आजै ओलीले अब्बासीलाई याक एन्ड यतीमा रात्रिभोज दिने कार्यक्रम तय भएको छ। उनीहरुबीच दुईपक्षीय वार्तासमेत हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।