काठमाडौं- म्याद थप, बैंक क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार पनि बालुवाटारमा धर्ना दिएका छन्।
सोमबादेखि धर्ना दिन सुरु गरेका व्यवसायीले मंगलबार दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएको हुन्।
बिहानबाटै सुरु भएको धर्ना झडै एक घन्टा चलेको थियो।
धर्नामा सहभागी व्यवसायीहरुले 'व्यवसायीका माग पूरा गर', 'सम्पूर्ण व्यवसायी एक हौं', 'व्यवसायी मैत्री ऐन, आजको आवश्यकता', 'एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर', 'निर्माण व्यवसायीको संरक्षण गर' नारा लेखिएको प्ले कार्ड बोकेका थिए।
माग सम्बोधनका लागि सरोकारवाला अन्य निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनु परेको महासंघले जनाएको छ।
महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको जनाएको छ।
महासंघका अध्यक्ष रवि सिंहले अब निरन्तर एक साता यसरी नै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइने बताए।
निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरु समक्ष आन्दोलनको विकल्प्प नरहेको अध्यक्ष सिंहको भनाइ थियो।
आन्दोलन अन्र्तगत महासंघले माइतीघर मण्डला लगायतका सडकमा कालो झण्डा सहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्ग अनुसार चरणबद्ध रुपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरु पूर्ण रुपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।