काठमाडौं- संघीय समाजवादी फोरमलाई नयाँ सरकारमा सहभागी गराउने सरकारको प्रयासले आइतबार पनि अन्तिम रुप पाउन सकेन।
मन्त्रालय बाँडफाँटलाई अन्तिम रुप दिन सरकार र फोरमबीच आइतबार दुई पटक छलफल भए पनि सहमति जुट्न सकेन। बालुवाटारमा बिहान बसेको बैठकमा सामान्य छलफल गरेका दुवै पक्षले प्रतिनिधि र राष्ट्रियसभाका सांसदको सपथ लगत्तै पुन: छलफल गरेका थिए।
अपराह्न सपथ लगत्तै संसद् भवनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवले करिब एक घन्टा छलफल गरे पनि मन्त्रालयको भागबन्डामा कुरा मिल्न सकेन।
एमालेका नेता सुवास नेम्वाङले वार्ता सकारात्मक देखिएको र सोमबार टुंगोमा पुग्ने दाबी शीर्ष नेताहरुले गरेको नेपाल लाइभलाई बताए।
संविधान संशोधनमा एमाले लचिलो भएपछि सरकारले फोरमलाई समेत सरकारमा सहभागी गराउने कोसिस गरिरहेको छ।
सरकारले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्री लिन फोरमलाई आग्रह गरेको छ। तर, फोरमले उपप्रधानसहित तीन मन्त्रालयमा दाबी गरेको छ। सरकारले परराष्ट्रसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिन फोरमलाई आग्रह गर्दै आएको छ। फोरमले भने परराष्ट्र सहित स्वास्थ्य र ऊर्जा मन्त्रालयमा दाबी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।