राजविराज– प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारको गठनसँगै किसानका लागि ‘स्वर्णयुग’ सुरु भएको बताएका छन्।
कृषिलाई समयानुकूल परिमार्जित र प्रविधियुक्त बनाउन आफ्नो कार्यकाल उदाहरणीय हुने भन्दै साहले कृषिलाई सम्मानजनक पेशाका रुपमा स्थापित गर्न आफूले काम गर्ने बताए।
आइतबार नेपाल पत्रकार महासंघ सप्तरीको सम्मान ग्रहण गर्दै मन्त्री साहले समयमा बिउ, मल तथा सिंचाइको व्यवस्था मिलाउन नसक्दा पेसागत असुरक्षा बढेको र युवापुस्ताले कृषिभन्दा वैदेशिक रोजगारीलाई प्राथमिकता दिन थालेको भन्दै चिन्ता व्यक्त गरे।
‘२ नम्बर प्रदेश सरकारको एक मात्र उद्देश्य मधेसको समृद्धि हो’, साहले भने, ‘मधेसको समृद्धि तब मात्र सम्भव छ, जब कृषि प्रविधिमा आमूल परिवर्तन र कृषिलाई सम्मानजनक पेशाका रुपमा स्थापित गर्न सकिन्छ।’
मधेसको ८० प्रतिशत जमिन सिंचाइ असुविधाका कारण बाँझो बस्ने गरेको भन्दै उनले भएका संरचनाको मर्मत सम्भारसँगै मझौला सिंचाइ योजनाका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने जिकिर गरे।
संघीयताको कार्यान्वयन, तीन चरणका चुनाव र प्रदेश २ मा सरकार गठनपछि सबैको नजर मधेसमा रहेको बताउँदै मन्त्री साहले अब काम गरेर देखाउनुको विकल्प नरहेको पनि बताए।
‘हामीले अधिकार र विकासलाई एकै पटक अगाडि बढाउनुपर्ने दायित्व बोकेका छौं। त्यसैले विश्वको नजर हामीमाथि छ’, साहले थपे, ‘मधेस र मधेसी जनताको समृद्धि एकमात्र विकल्प हो, समस्याबाट भाग्ने र असफल हुने छुट यो सरकारलाई छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।