काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले साहित्यसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताएका छन्।
कुनै उमेरमा साहित्यप्रति झुकाव राख्ने र कविता समेत लेख्ने गरेको सुनाउँदै अध्यक्ष दाहालले कवि हुन फुर्सदै नै नमिलेको थकथकी प्रकट गरे। इच्छा हुँदाहुँदै पनि साहित्यमा सक्रिय हुन नपाएको भन्दै अध्यक्ष दाहालले आफू भावनात्मक हिसाबले बढी संवेदनशील रहेको बताए।
‘म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु’, साझा प्रकाशन पुल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘उपन्यास र निबन्ध पढ्दा पनि भावुक हुन्छु।’
राजनीतिक व्यस्तताका कारण साहित्यमा आफूले चाहे जस्तो समय र ध्यान दिन नसकेको समेत दाहालले उल्लेख गरे।
माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित ‘बाह्रखरीको बोटमुनि’ निबन्ध संग्रहको विमोचन गर्दै अध्यक्ष दाहालले आफ्ना पार्टीका सहयात्री मित्रहरुले लेखेको पुस्तक पनि आफैंले लेखेको झैं लागेको टिप्पणी गरे।
अध्यक्ष दाहालले साझा प्रकाशनले झेल्नुपरेका समस्या समाधान गर्न सरकार र पार्टीका तर्फबाट आवश्यक पहल गर्ने समेत बताए।
‘साझाको रक्षा गर्न र नयाँ उपस्थिति अनुसार अगाडि बढाउन नयाँ सरकार दृढ हुन्छ भन्ने विश्वास छ’, उनले भने।
पार्टी एकता सबैको चाहनाको अभिव्यक्ति भएकाले आफू तयार भएको दाहालले उल्लेख गरे। प्रधानमन्त्री केपी शर्मा ओली र आफूप्रति लक्षित गर्दै प्रचण्डले एक जना १४ वर्ष जेल बसेर, एक जना १४ वर्ष वनवास बसेर अनेक उतारचढाव भोगेर अब एक हुने ठाउँमा आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।