काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सिपमूलक तालिम सञ्चालन गर्ने प्रयोजनका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ।
सिपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सिटिइभिटीका तर्फबाट सदस्यसचिव डा. पुष्परमण वाग्लेले सोमबार राजधानीमा आयोजित एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर गरे।
संघ, प्रदेश र स्थानीय तहस्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यस्थलमा आधारित सिप विकास तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्न परिषदको केन्द्रीय/प्रदेश कार्यालय तथा महासंघको सबै स्थानीय तह र केन्द्रीयस्तरमा आवश्यकतानुसार समन्वय हुने गरी गर्ने व्यवस्था मिलाउने पनि सम्झौतापत्रमा उल्लेख छ।
तालिम प्रदायक शिक्षण संस्थामार्फत् सञ्चालित कार्यस्थलमा आधारित सिपमूलक तालीम कार्यक्रमहरूका प्रशिक्षार्थीलाई महासंघका सदस्यले प्रशिक्षणसमेत दिनेछन्। ‘सिपमूलक तालिम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सिप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारीबारे अभिमुखीकरण प्रदान गर्ने’ सम्झौतामा उल्लेख छ।
औद्योगिक प्रशिक्षार्थी तालिमका लागि उद्योग पहिचान, औद्योगिक प्रशिक्षण र आवश्यक सहकार्यका लागि पनि महासंघले सहयोग गर्ने भएको छ। कार्यस्थलमा आधारित तालिम कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिएका नीतिगत सुधारका लागि सम्बन्धित निकायहरुमा संयुक्त पहल गर्ने पनि सम्झौतामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।