काठमाडौं- राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकको प्रयोग गरी १ अर्ब २९ करोड ३६ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले जिल्ला अदालत काठमाडौंमा सोमबार यो मुद्दा दायर गरेको हो।
विभागका अनुसार बारा कलैया नगरपालिका वडा ४ घर भइ हाल ललितपुर महानगरपालिका वडा नं ३ धोबिघाट बस्ने विनोदकुमार अग्रवाल, जिल्ला झापा साविक अनारमनी गाविस वडा नं ३ स्थायी ठेगाना भइ ललितपुर महानगरपालिका वडा २३ हात्तिवन बस्ने विकास अग्रवालसमेतले न्यून आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी राजस्व चुहावट गर्नेविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरुले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिंग कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिंग कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राइजेज प्रालि, सीमस ट्रेड इन्टरनेशनल, निशिला ट्रेडिंग, अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राईजेज, श्रीअन्तु जनरल सप्लायर्ससमेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरु दर्ता गरी वास्तविकरुपमा मालबस्तु खरिद बिक्री नै नगरी विभिन्न फर्महरुलाई झुट्टा तथा नक्कली बिल बेचेको विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।