काठमाडौं- पुराना सहसचिवले अवकाश पाउने क्रम बढेपछि अर्थ मन्त्रालयमा सहसचिव अभाव देखिएको छ। सहसचिवहरुले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउन थालेपछि अर्थको संरचनामा सहसचिव अभाव देखिएको हो।
प्रशासनतर्फ गृह मन्त्रालयपछि सबैभन्दा धेरै सहसचसिवको दरबन्दी अर्थ मन्त्रालयमा छ। असोजयता मात्रै अर्थ मन्त्रालय र मातहतका ३ सहसचिवले अवकाश पाएका छन्। सहसचिवहरु निर्मलहरि अधिकारी, जगन्नाथ देवकोटा र सुशील पाण्डे ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका छन्।
यसैगरी अर्थकै वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको नेतृत्व गरिरहेका सहसचिव हरिशरण पुडासैनी चीनको ग्वाङ्झाउमा महावाणिज्यदूत नियुक्त भएका छन्। पुडासैनी चीन गएपछि यो सिट पनि रिक्त छ।
अर्थ मन्त्रालय भित्र एक सिट, आन्तरिक राजस्व विभागमा एक सिट, भन्सार जाँचपास परीक्षण कार्यालयमा एक सिट, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा एक सिट र महालेखा नियन्त्रक कार्यालयमा २ सिट गरी ६ जना सहसचिवको दरबन्दी खाली छ।
अर्थ मन्त्रालयभित्र कामको धेरै बोझ हुने महाशाखामा वित्तीय क्षेत्र व्यवस्थाप महाशाखा पर्छ। पुडासैनी चीन गएपछि रिक्त भएको यो स्थानमा कसैलाई पनि पूरा जिम्मेवारी दिइएको छैन।
सरकार हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयमा २ जना सहमहालेखा नियन्त्रक खाली छन्। देवकोटा र शंकरकृष्ण श्रेष्ठले अवकाश पाएपछि दुवै स्थान रिक्त छ। तालिम केन्द्र प्रमुख पाण्डेले कात्तिकमा अवकाश पाएका थिए। उनको अवकाशपछि त्यहाँ पनि पद रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।