विराटनगर- बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ। मंसिर १५ गतेदेखि विराटनगर र भद्रपुरबाट काठमाडौं तथा पोखराका लागि उडान भर्ने तयारी गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
भद्रपुर र विराटनगरदेखि पोखरासम्मको ट्रान्जिट फ्लाइटसम्बन्धी बुद्ध एयरद्वारा आइतबार आयोजित कार्यक्रममा उनले परीक्षणस्वरुप सो कार्य छ महिना सञ्चालन गरिने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सधैँ सेवा जारी राख्ने बताए। नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन प्रदेश सरकारको आग्रहमा उक्त सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो।
सुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताए। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पुर्याउनु नै समृद्धिको सुरुवात भएको बताए।
विराटनगर विमानस्थलको धावनमार्गलाई दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनले जानकारी दिए।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बुद्ध एयरले विराटनगर र काठमाडौंदेखि पोखरा सेवालाई सीधा सेवा सुरु गर्नसके सेवाग्राही लाभान्वित हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।