काठमाडौं- संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कालाबजारी बढेको निष्कर्ष निकाल्दै अनुगमन गर्न उपसमिति गठन गरेको छ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कालोबजारी बढेको निष्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको हो।
उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्यधिक बढेकाले बजार अनुगमन गर्न नरबहादुर धामीको संयोजकत्वमा ७ सदस्यीय उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो।
'उपसमितिले दुध, पानी, दाल, चामल, तेल, औषधिलगायतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तरलगायतको अनुगमन गर्नेछ,' समिति सभापति विमलप्रसाद श्रीवास्तवले भने। उपसमितिले एक महिना भित्र बजार अनुगमन प्रतिवेदन बुझाउन समय पाएको छ।
समिति सदस्यमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बू, सुजाता परियार सदस्य छन्। एकजना सदस्य संयोजकले थप्न पाउने व्यवस्थासमेत गरिएको छ।
यसैबीच समितिले यसअघि बसेका बैठकमा नेपालको हवाई उडान, विमानस्थलमा रहेका समस्या समाधान, भ्रमण वर्ष २०२० को तयारी र वैदेशिक रोजगारीमा गई कुवेतमा अलपत्र परेका २१ जना कामदारहरुलाई नेपाल फर्काउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जानकारी गराएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।