इटहरी- भारतीय सीमानाका जोगवनीदेखि धरानसम्मको रानी–धरान ६ लेन सडक विस्तार आयोजनामा मापदण्डविपरीत काम भएको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। निर्माणाधीन सो सडक विस्तारमा इटहरी क्षेत्रमा मापदण्डविपरीत भएको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधनलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।
आइतबार मापदण्डअनुसार सडक विस्तार गर्न दबाब दिन बनेको संघर्ष समितिले मुख्यमन्त्री राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो। इटहरीका युवाहरुले संघर्ष समिति बनाई राजमार्ग साँधुरो बनाएको विषयमा विरोध गर्दै आएका छन्।
यस अघि सोही समितिले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीसमक्ष समेत ध्यानाकर्षण पत्र बुझाएका थिए।
समितिका संयोजक मदन चुँडालले भारत–चीन जोड्ने बहुप्रतिक्षित व्यापारिक सडकलाई केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने प्रपञ्च रचिएको भन्दै प्रदेश सरकारले ध्यान दिनुपर्ने माग गरिएको छ। ‘राष्ट्रिय राजमार्ग जस्तो सडक विस्तार आयोजनामा मनपरि काम भएको छ,’उनले भने, ‘दीर्घकालीन महत्वको आयोजनाका विषयमा तीनै तहको सरकारको उदासीनताप्रति जनताले प्रश्न उठाइरहेका छन्।’
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राईले ६ लेन सडकको डिपिआरमै समस्या आएकाले सडकको विभिन्न भागको मापदण्ड फरक हुन पुगेको बताए। इटहरी क्षेत्रको विवादको बारेमा भने सडक आयोजनासँग तुरुन्त जवाफ माग्ने उनले बताएका छन्। `इटहरी क्षेत्रका बारेमा कहाँ समस्या भएको छ, म जानकारी लिन्छु,’उनले भने।'
आर्थिक वर्ष २०६८⁄०६९ को सुरु भएको रानी-धरान ६ लेन सडकको लम्बाइ ४९ किलोमिटर छ। भारतको जोगवनी र चीनको किमाथांका क्षेत्र जोड्ने यो सडकलाई त्रिदेशीय महत्वको सडकका रुपमा लिने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।